गान्तोक, 04 दिसम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गेजिङ आठ माइलस्थित जिल्ला कार्यालयमा आज एक महत्वपूर्ण जिल्ला स्तरीय सभा सम्पन्न भयो। उक्त सभा पार्टी अध्यक्ष गणेश राईको नेतृत्वमा आयोजना गरिएको थियो। यस सभामा पार्टीको केन्द्रिय कार्यकारिणी समितिका वरिष्ठ पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको आज जारी एक विज्ञप्तिमा उल्लेख छ।
पार्टी अध्यक्ष गणेश राईले आफ्नो सम्बोधनमा पार्टीको भावी रणनीति र कार्ययोजनाहरूको बारेमा सभा सहभागीहरूलाई जानकारी गराए। उनले पार्टीले तयार पारेको मार्गदर्शन पुस्तिका सबै नेता र कार्यकर्ताहरूले गहन रूपमा अध्ययन गर्नुपर्नेमा जोड दिए। साथै, सिक्किमका जनताको आवाजलाई प्रभावकारी ढंगले उठाउन समग्र सुधारको पक्षमा एकजुट बन्नुपर्ने उनले आह्वान गरे। उनले कस्तै परिस्थितिमा सबै जुझारु बनेर समग्र सिक्किमेको आवाज बन्न अपील गरे।
सीएपीले आजदेखि राज्यभरका सबै जिल्लामा जिल्ला समन्वय सभा आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। यी समन्वय सभाहरू आगामी 10 दिसम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हरेक जिल्लास्तरीय सभामा स्थानीय समस्याहरूको उचित समाधानका लागि परामर्श प्रदान गरिने र पार्टीका रणनीतिहरू स्थानीय कार्यकर्तामाझ स्पष्ट रूपमा प्रस्तुत गरिने बताइएको छ।
सभालाई पार्टीका उपाध्यक्ष (समन्वय) एमबी लिम्बू, उपाध्यक्ष (प्रशासन) प्रशान्त बाबू छेत्री, युवा कल्याण परिषदका प्रमुख टीकाराम नेपाल, महिला परिषदकी वरिष्ठ नेतृहरू विना शर्मा र सुमती छेत्री, महासचिव (संगठन) प्रकाश पराजुली र गेजिङ जिल्ला अध्यक्ष ओङ्दिला भोटियाले सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल