भारतीय सेनाद्वारा भारत चीन सीमाका चार गाउँलाई वैकल्पिक बिजुली उपलब्ध गराउन जेनेरेटर प्रदान
भारतीय सेनाद्वारा भारत चीन सीमाका चार गाउँलाई वैकल्पिक बिजुली उपलब्ध गराउन जेनेरेटर प्रदान


गान्तोक, 28 मार्च (हि.स.)। भारत-चीन सीमामा रहेको लगभग 13 हजार फिटको उच्चाईमा पर्ने थेगु, छाङ्गु, याक्ला र सेरेथाङ गाउँका मानिसहरूको निम्ति भारतीय सेना बरदान सावित भएको छ। सेनाद्वारा अन्तरराष्ट्रिय सीमामा रहेका गाउँहरूको विकासको निम्ति सञ्चालनमा रहेको अपरेशन सद्भावना 2023-24 कार्यक्रम अन्तर्गत आज चारवटा शक्तिशाली 45 केवीए जेनेरेटर प्रदान गरिएको छ।

समाजको आधारभूत विकासहेतु भारतीय सेनाले गर्दै आएका पहलले गाउँलेहरूलाई महत्वपूर्ण योगदान हुँदै आएको छ। सेनाको 63 पार्वतीय खण्ड र 17 पार्वतीय खण्डको अथक प्रयासले योगदान सफल भएको सेनाले बताएको छ। 63 पार्वतीय खण्डका ब्रिग्रेडियर विजय सिंह मुख्य अतिथिको रूपमा उपस्थित भएर छाङ्गुका पञ्चायत मिङ्मा शेर्पा र याक्ला-सेरेथाङकी पञ्चायत छिरिङ याङ्जी शेर्पालाई चारैवटा गाउँको निम्ति जेनेरेटर हस्तान्तरण गरियो।

कार्यक्रममा आफ्नो सम्बोधन राख्दै सेनाका अधिकारी बिग्रेडियर विजय सिंहले यो दुर्गम पहाडी क्षेत्रमा कर्मठ गाउँलेहरूलाई भारतीय सेनाको तर्फबाट अभिनन्दन गरे। उनले गाउँका सबै प्रतिनिधि पञ्चायत सबै गाउँलेहरूलाई सेनाको अपरेशन सद्भावनामा काँधमा काँध मिलाएर भाग लिएकोमा आभार प्रकट गरे।

भारतीय सेनासित सहकार्यको निम्ति आभार प्रकट गर्दै भविष्यमा पनि कुनै पनि आवश्यकता रहेको खण्डमा भारतीय सेनाको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए। उनले सेनाका बहादुर जवानहरू र अधिकारीहरूलाई पनि धन्यवाद व्यक्त गर्दै सेनाले गाउँलेहरूसित मिलेर कार्य गरिरहेकोमा खुशी व्यक्त गरे।

छाङ्गु गाउँका पञ्चायत मिङ्मा शेर्पाले सेनाको सेवाकार्यको सराहना गर्दै गाउँले जनताको तर्फबाट धन्यवाद व्यक्त गरे। उनले क्षेत्रमा सेनाले प्रदान गरेको सबै सेवा सुविधाले गाउँलेहरूको कठीन जीवन धेरै सहज भएको छ भने। उनले सेनाद्वारा चाँडै एउटा एम्बुलेन्स पनि प्रदान गर्न गइरहेको बताउॅंदै यसले धेरै सहयोग हुने बताए। यसैगरि यो जेनेरेटरको सही रखरखाव र व्यवस्थापनमा पञ्चायत र जनताले मिलेर सहकार्य मार्फत कार्य गर्ने उनले बताए।

अर्कोतिर याक्ला सेरेथाङकी पञ्चायत सदस्या छिरिङ याङ्जी शेर्पाले चिसो मौसममा धेरै बिजुलीको समस्या हुने भएको हुनाले त्यसलाई ध्यानमा राखेर जेनेरेटर प्रदान गरेकोमा आभार प्रकट गरिन्। यसैगरि सेनाले पूजास्थल, समुदायिक भवन निर्माणमा पनि योगदान दिइरहेको बताइन्। सेनाले दिएको सुविधाहरूलाई सही रूपमा व्यवस्थापन गर्नुपर्ने जनताको पनि जिम्मेवारी रहेको उनले बताइन्।

हिन्दुस्थान समाचार


 rajesh pande