राजु विष्टद्वारा बीपी बजगाईं विरुद्ध चुनाउ आयोगमा मानहानीको मुद्दा दर्ता
राजु विष्टद्वारा बीपी बजगाईं विरुद्ध चुनाउ आयोगमा मानहानीको मुद्दा दर्ता


सिलगढी, 24 अप्रेल (हि.स.)। भारतीय जनता पार्टीको दार्जीलिङ संसदीय सिटका प्रार्थी राजु विष्टले निर्दलीय प्रार्थी बीपी बजगाईं विरुद्ध चुनाउ आयोगमा उजुरी गरेका छन्। भाजपा प्रार्थी राजु विष्टले आज एक प्रेस विज्ञप्ति जारी उक्त जानकारी गराएका छन्।

उनले भनेका छन्, 'बितेका केही समयदेखि बिष्णुप्रसाद शर्मा (बीपी बजगाइँ) ले मेरो बदख्वाइँ गरेर, गलत तथ्यहरू अनि आधारहीन गलत बयान गरेर मलाई बदनाम गर्दै मतदाताहरूलाई भ्रमित गर्ने अनि हाम्रा लोकतान्त्रिक प्रक्रियाहरूलाई बिथोल्ने लगातार प्रयास गरिरहेका छन्। उनको यो कृत्य मेरो प्रतिष्ठामाथि कुठाराघात गर्ने अनि मतदाताहरूलाई भ्रममा पार्ने उद्देश्यले गरिएको अत्यन्तै घृणित राजनीतिक षड़यन्त्र हो। तसर्थ, म बिष्णुप्रसाद शर्माविरुद्ध आपराधिक मानहानीको मुद्दा दायर गर्न गइरहेको छु अनि मैले चुनाउ आयोगलाई यस मामिलाको यथोचित संज्ञान लिएर बिष्णुप्रसाद शर्माविरुद्ध कड़ा कारबाही गरियोस् भनी लेखेको छु।'

उनले विज्ञप्तिमा भनेका छन्, 'म यहाँ स्पष्ट रूपले भन्दछु कि म दार्जीलिङ र कालेबुङ जिल्ला वा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, अथवा भारतको कुनै पनि भागमा तथाकथित जल जीवन मिशन (जेजेएम) योजना एवं निगरानी समितिको सदस्य/हिस्सा कहिल्यै पनि रहेको छुइन। यसका साथै म स्पष्ट रूपले भन्दछु कि मैसर्स सूर्या आई प्राइभेट लिमिटेड कम्पनीसँग मेरो कुनै सम्पर्क, सम्बन्ध वा कारोबार छैन। म थप भन्दछु कि मैसर्स सूर्य आई प्राइभेट लिमिटेडसित म सम्बद्ध रहेको सूर्या रोशनी लिमिटेडको कुनै सम्बद्धता छैन।'

विष्टले अझ भने, 'मेरो विरुद्धमा झूटो अनि निराधार आरोपहरू लगाएर बिष्णुप्रसाद शर्माले मतदाताहरूलाई नकारात्मक ढङ्गले प्रभावित गर्ने अनि हाम्रो लोकतान्त्रिक प्रक्रियालाई बिथोल्ने कुत्सित प्रयास गरेका छन्। यसका साथै उनले मेरो प्रतिष्ठालाई क्षति पुऱ्याएका छन् र मेरो मानहानी गरेका छन्। त्यसर्थ, मैले चुनाउ आयोगलाई बिष्णुप्रसाद शर्मा विरुद्ध कानून बमोजिम कार्बाही गर्ने अनुरोध गरेको छु।'

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande