चुनभट्टीमा एउटा घर पैह्रोले क्षतिग्रस्त, पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले निरीक्षण गरिन्
चुनभट्टीमा एउटा घर पैह्रोले क्षतिग्रस्त, पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले निरीक्षण गरिन्


खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारेदेखि केही मुनि चुनभट्टीमा पैह्रोले एउटा घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। आज बिहान लगभग 3-4 बजीको समयमा गएको पैह्रोले चुनभट्टी स्टेशन पाखा निवासी रोमन राईको घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।

पैह्रोले घैयाबारी ग्राम पञ्चायत दुईको कार्यालय पुग्ने पोनी रोड पनि क्षतिग्रस्त बनाएर बाटो नै भत्काएको छ। पैह्रोले रोमन राईको घर सबै क्षतिग्रस्त बनाएपछि परिवारका सदस्यहरूलाई सुरक्षित स्थानतिर सारिएको छ। पैह्रोले घरलगायत पाइखाना र बाख्राको खोरलाई पनि आफ्नो चपेटमा लिएको छ।

पैह्रो प्रभावित परिवारलाई अस्थायी रूपमा हालमा चुनभट्टी प्राथमिक पाठशालामा रिलिफ क्याम्प बनाएर राखिएको छ। पैह्रोको निरीक्षण गर्न आज बिहान तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत समिति सदस्य साजन दर्जी घटनास्थल पुगे तथा पञ्चायतबाट तत्काल सहयोगको रूपमा तारपोलिनहरू प्रदान गरे।

यसरी नै पैह्रोको निरीक्षण गर्न खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधान लगायत पञ्चायत समिति सदस्यहरू भक्तिमान तामाङ, वाङ्दी लामा, पञ्चायत सदस्या बिनिता गजमेर पनि घटनास्थल पुगेका थिए। सभापति प्रधानले पैह्रो प्रभावित परिवारलाई तत्काल सहयोगस्वरूप राहत सामग्रीहरू प्रदान गरेकी छन्।

पैह्रो जानुको मुख्य कारण बाटोमा नालाको व्यवस्था सठीक नहुनु बताइएको छ। माथिबाट बगेर आउने पानी सबै जथाभावी बगेर पैह्रो गएको स्थानीयहरूले बताएका छन्। यसरी बगेर आएको पानीले मुख्य सड़कदेखि पञ्चायत कार्यालयसम्म पुग्ने पोनी रोड पनि बगाएको छ। पैह्रोका कारण स्थानीय मानिसहरूमा डरको माहोल छ।

पैह्रो पीडित रोमन राईले पत्रकारहरूसित कुराकानी गर्दै यो पैह्रो बिहान 2-3 बजीतिर आएर घरलाई क्षतिग्रस्त बनाएको जानकारी गराए। पैह्रोले घरका साथै पाइखाना र बाख्राको खोर पनि सोहोरेर लगेको उनले बताए। पैह्रोको चपेटमा परेर धेरै बाख्रा मरेको र कतिवटा हराएको पनि उनले जानकारी गराए।

घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले पैह्रो बिहान गएको थाहा पाउनसाथ क्षेत्रीय सभासद, पञ्चायत समिति, पञ्चायत सदस्य आएर तत्काल सहयोग गर्दै तारपोलिन लगाउने कार्य गरिएको बताए। उनले पीडित परिवारलाई रिलिफ क्याम्प बनाएर चुनभट्टी प्राथमिक पाठशालामा सारिएको बताए।

खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले पैह्रो पीडित परिवारलाई खण्ड पञ्चायत समितिको तर्फबाट गर्न सकिने सबै प्रकारको सहयोग गर्ने तथा जीटीए प्रमुख अनित थापालाई भनेर पनि सहयोग गरिने बताएकी छन्। उनले घरको परियोजनाहरू आएको खण्डमा पैह्रो पीडितलाई प्राथमिकता दिएर घर बनाइदिने बताइन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande