173औं पादरी गङ्गा प्रसाद प्रधान जयन्तीमा विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरिने
173औं पादरी गङ्गा प्रसाद प्रधान जयन्तीमा विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरिने


गान्तोक, 02 जुलाई (हि.स.)। आदि पत्रकार पादरी गङ्गा प्रसाद प्रधान स्मृति प्रतिष्ठानले आगामी 4 जुलाईका दिन राजधानीको मनन केन्द्रस्थित मिनी थिएटरमा 173औं पादरी गङ्गा प्रसाद प्रधान जयन्ती मनाउने निर्णय लिएको छ। यस अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित गरिने छ। उक्त जानकारी प्रतिष्ठानका अध्यक्ष कमल चामलिङ कामराङ्गेले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।

उनले प्रतिष्ठानले वर्षेनी चार जुलाईको दिन पादरी गङ्गा प्रसाद प्रधान जयन्ती मनाउॅंदै आइरहेको र यसपाली पनि भव्यरूपमा पादरी जयन्ती मनाउने जानकारी गराए। पादरी जयन्तीमा प्रतिष्ठानले विभिन्न विधामा योगदान दिने स्रष्टाहरूलाई सम्मान गर्दै आइरहेको र यसपाली पनि यस्ता स्रष्टाहरूलाई सम्मानित गरिने उनले बताए।

अध्यक्ष कामराङ्गेले बताए अनुसार, प्रतिष्ठानले आध्यात्मिक क्षेत्रमा रेभ. पीएस तिङ्गमो, पत्रकारिताको क्षेत्रमा पत्रकार अर्पण प्रधान, सङ्गीतको क्षेत्रमा जोन डी खवास, साहित्य क्षेत्रमा टेक बहादुर गुरुङ, सामाजिक क्षेत्रमा रेभ. सी सोदेम्बा, शिक्षाको क्षेत्रमा जङ्गुको लुम प्राथमिक पाठशालालाई सम्मानित गरिने छ। उनले उक्त कार्यक्रममा राज्यभरिबाट विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताउॅंदै सबैलाई उपस्थित भइदिन अनुरोध पनि गरे।

यसरी नै प्रतिष्ठानका उपाध्यक्ष पत्रुस गुरुङले कार्यक्रममा मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिको रूपमा उपस्थित रहने जानकारी गराए। उनले पादरी गङ्गा प्रसाद प्रधानको आध्यात्मिक र सामाजिक क्षेत्रमा योगदानमाथि प्रकाश पारेका थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande