नशामुक्त अभियान अन्तर्गत खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरिने
marathon


नाम्ची, 20 जुलाई (हि.स.)। नशामुक्त भारत अभियान अन्तर्गत नाम्ची जिल्लामा खुल्ला म्याराथन दौड आयोजना गरिने विषयलाई लिएर आज एक सभा जिल्लापाल अनुपा तामलिङको कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता जिल्लापाल तामलिङले गरेकी थिइन्। यस अवसरमा वरिष्ठ पुलिस अधीक्षक डा. टीएन ग्याछो, अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्ने क्रममा जिल्लापालले खुल्ला म्याराथन दौड प्रतियोगिता आगामी 3 अगस्तको दिन जिल्लापाल नाम्ची, सामाजिक कल्याण विभाग र खेलकूद विभागको संयुक्त पहलमा आयोजना गरिने जानकारी गराइन्। यस प्रतियोगितालाई चार भागमा विभाजन गरिने छ, जसमा खुल्ला पुरूष वर्ग, खुल्ला महिला वर्ग, 15-17 वर्षसम्मका किशोर र किशोरीहरू रहेका छन्।

प्रतिभागीहरूले पञ्जीकरणको निम्ति शुल्क भुक्तान गर्नु पर्दैन। सबै वर्गमा प्रथम तीन धावकलाई पुरस्कृति गरिने छ। यसैगरी, सबै वर्गमा प्रथम दश धावकलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

हिन्दुस्थान समाचार / प्रदीप / बिशाल


 rajesh pande