खरसाङमा शहीद दिवस पालन गर्न सबै तयारी पूरा
saheed diwas


खरसाङ, 26 जुलाई (हि.स.)। गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न भोलि 27 जुलाईको दिन शहीद दिवस पालनको निम्ति खरसाङमा तयारी पूरा भएको छ। खरसाङको दुर्बीनडाँडामा अवस्थित शहीद वेदीमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न भोलि कार्यक्रम आयोजना गरिनेछ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दुर्बीनडाँडामा आज शहीद वेदी सर सफाई र श्रृंगारेर तयार पारेको छ। शहीद वेदीमा श्रद्धाञ्जली कार्यक्रम समाप्त भएपछि खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा शहीदहरूका परिवारहरूलाई सम्मान गरिने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।

त्यसरी नै खरसाङमा भागोप्रमोबाहेक गोरामुमो, गोजमुमो र भारतीय जनता पार्टीले पनि शहीद दिवस कार्यक्रम आयोजना गर्ने जानकारी प्राप्त भएको छ। यस क्रममा गोजमुमोको शहीद दिवस कार्यक्रम खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजना हुने थाहा लागेको छ। उक्त कार्यक्रममा गोजमुमो केन्द्रिय अध्यक्ष बिमल गुरुङ विशेष रूपमा उपस्थित रहने बताइएको छ। उनको साथमा दार्जीलिङको भाजपा सासंद राजु विष्ट पनि उपस्थित रहने अपुष्ट खबर प्राप्त भएको छ।

त्यसरी नै खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको तीनधारे, घैयाबारी र महानदी गरी तीनवटा स्थानहरूमा पनि विभिन्न राजनैतिक पार्टीहरूले शहीद दिवस कार्यक्रम आयोजना गर्ने जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक / बिशाल


 rajesh pande