मुख्यमन्त्री स्वर्ण कप: सिक्किम पुलिसले इस्टर्न रेलवेलाई पराजित गऱ्यो
मुख्यमन्त्री स्वर्ण कप: सिक्किम पुलिसले इस्टर्न रेलवेलाई पराजित गऱ्यो


नाम्ची, 10 जनवरी (हि.स.)। जोरथाङ खेल मैदानमा शुरू भएको 10औं मुख्यमन्त्री स्वर्ण कप फुटबल टुर्नामेन्टको आज दोस्रो दिन सिक्किम पुलिस एफटी र इस्टर्न रेलवे एससी कोलकाताबीच भिडन्त भयो। यस खेलमा सिक्किम पुलिसले प्रतिद्वन्दी दललाई 5-1 गोलले पराजित गऱ्यो। विजेता दलका खेलाडी संजय राईलाई म्यान अफ् द म्याच चयन गरियो।

आज शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथि थिए। यसैगरी, विशिष्ट अतिथिहरूमा विधायक बीएस पन्त, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ तथा अन्यहरू उपस्थित थिए। मुख्य अतिथिको बाहुलीद्वारा नाम्ची जिल्ला फुटबल एसोसिएशनलाई स्मृति चिह्न प्रदान गरियो। यस अवसरमा रंगारंग सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरियो।

उल्लेखनीय छ, 10औं मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिताको आयोजना नाम्ची जिल्ला फुटबल संघले राज्य खेलकुद एवं युवा मामिला विभाग, सिक्किम फुटबल संघ र माघे संक्रान्ति मेला आयोजन समितिको संयुक्त तत्वावधानमा गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande