खरसाङ गोर्खे बजारको उद्घाटन: बिहिवारबाहेक दैनिक रुपमा लाग्ने खरसाङ गोर्खे हाट 
खरसाङ गोर्खे बजारको उद्घाटन


खरसाङ, 14 जनवरी (हि.स.)। खरसाङ गोर्खे हाट र खरसाङ नगरपालिकाको संयुक्त पहलमा मंगलवारदेखि खरसाङ गोर्खे बजार शुरु गरिएको छ। खरसाङ बजारको पुरानो एफसीआई गोदामदेखि केही मुनि रहेको स्थानमा आजदेखि गोर्खे बजार शुरु गरिएको छ जुन अब बिहिवारबाहेक दैनिक रुपमा लाग्ने भएको छ।

मंगलवार उक्त गोर्खे बजारको उद्घाटन खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानको बाहुलीबाट रिबन काटेर गरियो। यस अवसरमा खरसाङ नगरपालिकाका सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा साथै गोर्खे हाटका सभापति बिजय सिञ्चुरी, सचिव महेश छेत्री, गोर्खे हाटको कन्सेप्ट तयार गर्ने सन्तकिशोर गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।‌

खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले यस क्षेत्रमा खरसाङ गोर्खे बजार शुरु गर्नका लागि व्यापक रूपमा‌ सर सफाई गरिएको बताउँदै यो गोर्खे बजारमा बाहिरका सामानहरु पनि बिक्री गर्न पाउने बताए। उनले यहाँ बिहिवारबाहेक अरु दिन दैनिक रुपमा बजार लाग्ने जानकारी गराए। आफ्नो सम्बोधनमा प्रधानले अहिले खरसाङलाई बद्नाम गर्ने कोशिश भइरहेको बताउँदै खरसाङलाई बद्नाम गर्ने मात्र होइन तर खरसाङलाई राम्रो बनाउन पनि सुझाउ चाहिन्छ भनी बताए।

खरसाङ गोर्खे बजार शुरु गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खे हाटका सचिव महेश छेत्रीले आइतवार टुरिस्ट लजमाथि गोर्खे हाट सधैंको जस्तो लाग्ने जहाँ हाम्रै मानिसहरुले आफ्नै क्षेत्रमा उत्पादन गरेका अर्ग्यानिक सर सामानहरु बिक्री गर्नेछन् र यहाँ खरसाङ गोर्खे बजारमा‌ अन्य सर सामानहरु र बाहिरका सामानहरु पनि बिक्री गर्न सकिने बताए। उनले यहाँ दोकान खोल्न चाहनेहरुले‌ आयोजक समिति समक्ष सम्पर्क गर्न सक्ने बताए।

सचिव महेश छेत्रीले खरसाङ गोर्खा हाट र खरसाङ गोर्खे बजारमा‌ भिन्नता रहेको बताउँदै खरसाङ गोर्खे बजारमा विभिन्न सर सामानहरु बाहिरबाट ल्याएर पनि बिक्री गर्न सकिने, तर सबैजना जातीय भेषभूषामा सजिएर आउनु पर्ने बताए। उनले यस खरसाङ गोर्खे बजार सञ्चालनको लागि सहयोग गर्ने खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानप्रति आभार प्रकट गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande