देन्ताम, 15 जनवरी (हि.स.)। देन्ताम महकुमा कार्यालय भवनको उद्घाटन समारोहको तयारीलाई थप व्यवस्थित बनाउन अन्तिम समन्वय सभा आज क्षेत्र विधायक सुदेस कुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। सभामा अतिरिक्त जिल्ला विकास अधिकारी सुरत कुमार गुरुङ, महकुमा अधिकारी एनके कार्की, खण्ड विकास अधिकारी वाङ्दी छिरिङ भोटिया, एसकेएम पार्टीका नेतृत्वहरू आदि उपस्थित थिए।
सभाको मुख्य उद्देश्य मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा सम्पन्न गरिने उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने तयारीका लागि आवश्यक छलफल र व्यवस्थापन गर्नु थियो। सभामा अतिथिहरूको स्वागत, कार्यक्रमको सञ्चालन, सुरक्षा व्यवस्था र सांस्कृतिक प्रस्तुति लगायत जिम्मेवारीहरू तोक्न समितिहरू गठन गरिएको छ।
यसैगरी विभिन्न पक्षमा आवश्यक समन्वय गरी समारोहलाई सफल बनाउने रणनीतिहरूमाथि सभामा छलफल भयो। क्षेत्र विधायकले देन्तामवासी जनतालाई भोलि 16 जनवरीका दिन यस ऐतिहासिक अवसरमा सक्रिय रूपमा सहभागी उद्घाटन समारोहलाई सफल बनाउन अनुरोध गरेका छन्। उनले सबैको सहकार्य र एकताले यो महत्त्वपूर्ण क्षणलाई गौरवान्वित बनाउन सकिने अपेक्षा गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल