सिक्किम र दार्जिलिङ एकीकरणको मुद्दा निराधार र हास्यास्पद: भाजपा सिक्किम
सिक्किम र दार्जिलिङ एकीकरणको मुद्दा निराधार र हास्यास्पद: भाजपा सिक्किम


गान्तोक, 15 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), सिक्किमले सिक्किम र दार्जिलिङ एकीकरणको मुद्दा निराधार र हास्यास्पद रहेको बताउॅंदै यस विषयलाई कुनै पनि मञ्चमा महत्व दिनु नहुने आफ्नो अडान स्पष्ट गरेको छ। प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आज जारी एक प्रेस विज्ञप्तिमा सिक्किम-दार्जिलिङ एकीकरणको मुद्दाप्रति पार्टीको अडान स्पष्ट गर्दै यसो भनेका हुन्

उनले भनेका छन्, सिक्किम र दार्जिलिङ विलयको बारेमा भइरहेको निराधार छलफललाई सधैंको लागि खारेज गर्न आवश्यक छ र यो एक सम्भाव्य अवधारणा होइन भनेर स्वीकार गर्नु आवश्यक छ। भारतीय संविधानको धारा 371एफ अन्तर्गत सिक्किमको आफ्नै विशेष दर्जा रहेको बताउॅंदै उनले यो विशेष दर्जा सिक्किमको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको परिणाम हो र यसले सिक्किमलाई भारतका अन्य राज्यहरूबाट अलग गर्छ भनी बताएका छन्।

प्रदेश अध्यक्ष थापाले धारा 371एफ अन्तर्गत सिक्किमलाई प्राप्त विशेष दर्जा नै दार्जिलिङसँग एकीकरण असम्भव बनाउने एउटा महत्त्वपूर्ण कारक रहेको बताएका छन्। यस विशेष दर्जाले सिक्किमलाई आफ्नो विशिष्ट सांस्कृतिक र भाषिक पहिचान कायम राख्न अनुमति दिन्छ भने यसले राज्यलाई क्षेत्रका अन्य राज्यहरूबाट अलग गर्छ भनेका छन्।

उनले एकीकरणको बहसमा अल्झनुको सट्ट सिक्किमको विकासमा ध्यान केन्द्रित गर्ने समय रहेको बताएका छन्। उनले राज्यमा विकास र समृद्धिको प्रशस्त सम्भावना छ भन्दै आर्थिक विकास, पूर्वाधार विकास र सामाजिक कल्याणलाई प्रवर्द्धन गर्ने पहलहरूलाई प्राथमिकता दिनु आवश्यक रहेको बताएका छन्।

अध्यक्ष थापाले सिक्किम र दार्जिलिङ एकीकरणको विचारले कुनै अर्थ राख्दैन भन्दै यो बहसबाट अगाडि बढ्ने र सिक्किमको विकासमा ध्यान केन्द्रित गर्ने समय रहेको बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande