सोनादा, 15 जनवरी (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले सोनादामा आज गाउँ सम्पर्क सडकको सुधार र सुदृढीकरणको निम्ति विभिन्न योजनाहरुको शिलान्यास गरेका छन्। कार्यक्रमलाई कार्यकारी सभासद एवं क्षेत्रीय सभासद अनोश थापा, कार्यकारी निर्देशक सामदेन डुक्पा र जीटीए प्रमुख कार्यपाल अनित थापाले सम्बोधन गरेका थिए। कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, भागोप्रमोका पदाधिकारीहरु लगायत सभासदहरु र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रम सोनादाको नयाँ बस्तीमा आयोजना गरिएको थियो। उक्त शिलान्यास गरिएको योजनाहरूमा राष्ट्रिय राजमार्गको पेट्रोल पम्पदेखि कुङ्गा डेलेक होमस्टेसम्म ६२५ मिटर र मिलनमोडदेखि गुम्बा डाँडासम्म, मिलनमोडदेखि सामतेनको घरसम्म, लाक्पा शेर्पाको घरदेखि तिन्धुरे खोलासम्म अनि भोटिया गाउँदेखि धुप्पी मैदानसम्म सामेल छन्। यसैगरी, पछाडिएका वर्ग कल्याण र आदिवासी विकास, दार्जिलिङद्वारा बाटोको निर्माण हुने बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक