जोरथाङ, 15 जनवरी (हि.स.)। माघे संक्रान्ति मेला 2025 को दोस्रो दिन मेला आयोजक समितिको सहयोगमा खेलकुद र युवा मामिला विभाग, सिक्किम सरकारद्वारा आयोजित अन्तर जिल्ला खुल्ला महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल खेल सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथि सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा रहेकी थिइन्।
दोस्रो क्वार्टर फाइनल गान्तोक र सोरेङ जिल्लाबीच खेलिएको थियो, जसमा सोरेङ जिल्लाको टोलीले प्रतिद्वन्दी टोलीलाई 3–0 गोलले पराजित गर्दै विजयी बन्यो। सोरेङ जिल्लाकी एन्जल सुब्बा म्यान अफ द म्याच घोषित भइन्।
समारोहमा माघे संक्रान्ति मेला आयोजक समितिका प्रमुख संरक्षक तथा क्षेत्र विधायक मदन सिञ्चुरी, सिक्किम राज्य ब्याङ्कका सल्लाहकार बिरेनचन्द्र राई, सिक्किम राज्य महिला आयोगकी अध्यक्ष टेनी डोमा भोटिया, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, जोरथाङ नगर निगमका अध्यक्ष पवित्र मानव आदि उपस्थित थिए।
प्रमुख अतिथि र अन्य विशिष्ट व्यक्तिहरूले बाङ्गे बजारको संक्षिप्त भ्रमण गर्दै स्टल मालिकहरूसँग अन्तरक्रिया गरेका थिए। मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरूलाई सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागद्वारा स्मृति चिन्ह पनि प्रदान गरि सम्मान जनाइयो। खेलको क्रममा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल