सोनादा, 08 जनवरी (हि.स.)। केही दिनअघि वैदेशिक रोजगारको लागि लैजाने भनेर ठगीको आरोपमा पक्रा परेकी महिलालाई शहीदको नामसित जोडेकोमा शहीदका पिता साथै भूतपूर्व सैनिक कल्याण संगठन पचेङ शाखाको तर्फबाट भर्त्सना जनाइएको छ। यस विषयमा आज पत्रकार सम्मेलन बोलाएर भूतपूर्व सैनिक कल्याण संगठन पचेङ शाखाको तर्फबाट पक्रा परेकी महिलाको नाम शहीदको नामसित जोडेकोमा घोर भर्त्सना जनाइएको छ।
पत्रकारहरुसित कुराकानी गर्दै भूतपूर्व सैनिक कल्याण संगठनको तर्फबाट माईकल गुरुङले शहीदको नाममा समाचारहरु जुन नाम आउँदैछ त्यसको हामी घोर भर्त्सना बनाउँछौं भनी बताए। उनले शहीदका पिता संगठनका सदस्य हुन् भन्दै 1999 सालमा कारगिल युद्धमा पहाडबाट पहिलो शहीद हुने व्यक्ति रहेको जानकारी गराए। उनले लगभग दुई वर्षपछि उक्त महिलाको विवाह अरुसित भएको र नयाँ जीवन शुरुवात् गरिसकेको भए तापनि अहिले शहीदसित नाम किन जोडियो भनी प्रश्न गरेका छन्।
भूतपूर्व सैनिक कल्याण संगठनको सभापति एलबी राईले आरोपीको नाम शहीदको नामसित जोडेकोमा दु:ख लागेको बताउँदै कारगिल युद्धमा शहीद बनेका शहीदसित नाम जोडेर सामाजिक सञ्जालमा समाचार आएकोमा भर्त्सना जनाए। उनले यस विषयमा जिल्ला सैनिक बोर्डमा जानकारी गराउने बताए।
शहीदका पिताले पनि शहीदको नाम जोडिएकोमा दु:खी व्यक्त गरेका छन्। उनले महिला किन पक्रा परे त्यस विषयमा आफु अनविज्ञ रहेको बताउॅंदै शहीदको नाम जोडेकोमा भने घोर भर्त्सना जनाए। उनले अब उसो यस समाचारमा शहीदको नाम नजोडिदिन अनुरोध पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक