लापाज (बोलिभिया), २० अक्टोबर (हि.स.)। क्रिश्चियन डेमोक्रेटिक पार्टी (पीडीसी) का नेता रोड्रिगो पाज बोलिभियाका आगामी राष्ट्रपति बन्ने भएका छन्। राष्ट्रपति चुनाउमा उनका मुख्य प्रतिद्वन्द्वी जोर्ज क्विरोगाले दोस्रो चरणमा हार स्वीकार गर्दै पाजलाई बधाई दिएका छन्। लिब्रे गठबन्धनका पूर्व राष्ट्रपति क्विरोगाले आइतवार सम्पन्न ऐतिहासिक दोस्रो चरणको मतदानमा पराजय स्वीकार गर्दै आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेका थिए। पीडीसीको यो जितसँगै देशमा करिब २० वर्षदेखि चलिरहेको वामपन्थी शासनको अन्त्य भएको छ।
बोलिभियाको पत्रिका जोरनाडाका अनुसार, प्रारम्भिक परिणाम सार्वजनिक भएपछि क्विरोगाले पत्रकार सम्मेलनमा भने, “म जनमतको सम्मान गर्छु।” लापाजस्थित एउटा होटलमा भेला भएका उनका समर्थकहरूले चुनाउमा धाँधली भएको आरोप लगाएपछि क्विरोगाले सबैलाई शान्त रहन आग्रह गरे। उनले भने, “म तपाईहरूको पीडा बुझ्छु, तर धाँधलीको कुनै प्रमाण छैन।”
क्विरोगाले भने, “मैले जीवनमा सिकेको छु, कुनै पनि जीत स्थायी हुँदैन, कुनै पनि हारले तपाईलाई तोड्न सक्दैन, र कुनै पनि विपत्तिले तपाईलाई घुँडा टेक्न बाध्य पार्दैन।” उनले थपे, “मलाई सबैभन्दा ठूलो दुःख यो छ कि म बोलिभियालाई परिवर्तन गर्ने आफ्नो योजना पूरा गर्न सकिनँ।” अन्त्यमा उनले घोषणा गरे कि उनी अझै पनि बोलिभियाका जनताको हितका लागि काम गरिरहनेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी