वाराणसी, 22 अक्टोबर (हि.स.)। बिहार विधानसभाको पहिलो चरणको नामांकन प्रक्रिया पूरा भइसकेको छ र राजनीतिक तापक्रम उच्च स्तरमा पुगेको छ। सत्तारूढ एनडीए र विपक्षी महागठबन्धन दुवैले आफ्नो–आफ्नो जितको दाबी गरिरहेका छन्। यसैबीच, काशीका युवा ज्योतिषविद् तथा सामाजिक कार्यकर्ता डा. श्वेतांक मिश्रले आफ्ना ज्योतिषीय विश्लेषणका आधारमा ठूलो दाबी गरेका छन्। उनका अनुसार, यस पटक पनि बिहारको सत्ता पुनः एनडीए गठबन्धनको हातमा जाने सम्भावना प्रबल छ।
डा. मिश्रले ‘हिन्दुस्थान समाचार’ सँगको विशेष कुराकानीमा बताए अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री नीतिश कुमार, राजद नेता तेजस्वी यादव, चिराग पासवान, काङ्ग्रेस नेता राहुल गान्धी र रणनीतिकार प्रशान्त किशोरको उपलब्ध जन्मकुण्डलीहरूको विश्लेषणबाट यस्तो निष्कर्ष निकालिएको हो। उनका अनुसार, १८ अक्टोबरमा भएको महत्वपूर्ण खगोलीय परिवर्तन — बृहस्पतिको कर्क राशिमा प्रवेशले पनि चुनावी समीकरणमा प्रभाव पार्नेछ।
नीतीश कुमारलाई ‘राजयोग’ को साथ
डा. मिश्रका अनुसार, नीतिश कुमारको कुण्डली मिथुन लग्न र वृश्चिक राशिको छ। १८ अक्टोबरअघि बृहस्पति चन्द्रमाबाट अष्टम भावमा थिए, जुन अनुकूल मानिँदैन। तर अहिले बृहस्पति चन्द्रमाबाट नवम (भाग्य) भावमा पुगेका छन्, जसले एक शक्तिशाली ‘राजयोग’ निर्माण गरेको छ। यसको प्रभावले एण्टी–इनकम्बेन्सीका बाबजुद पनि नीतिश कुमारलाई चुनाउमा विशेष क्षति नहुने अनुमान गरिएको छ।
मोदीको कुण्डली सबैभन्दा बलियो, राहुल–तेजस्वी कमजोर
डा. मिश्रका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको कुण्डली तुलनात्मक रूपमा सबैभन्दा सशक्त छ। हालको समय उनलाई मध्यम फलदायी भए पनि विपक्षी नेताहरूको तुलनामा यसले उनलाई अग्रता दिलाउँछ। अर्कोतर्फ, राहुल गान्धीको कुण्डलीमा राहु–शनि ‘शापित योग’ बनेको छ, जसले कांग्रेसको प्रदर्शनलाई सीमित गर्न सक्छ। महागठबन्धनमा कांग्रेसभन्दा अन्य दलहरू केही मजबुत स्थितिमा रहने देखिन्छ।
तेजस्वी यादवको कुण्डलीबारे ज्योतिषीय मतभेद भए पनि यदि कुम्भ लग्नलाई आधार मानियो भने, उनी अहिले शनि साढे सातीको अन्तिम चरणमा छन्। यो समय ‘संकटा में सिद्धा’ बताइन्छ— जसमा संघर्ष त हुन्छ तर सत्ता प्राप्ति कठिन हुन्छ। त्यसैले तेजस्वी निर्णायक भूमिकामा नआउने सम्भावना बढी छ।
चिराग पासवानका तारा चम्किन सक्छन्
डा. मिश्रका अनुसार, लोजपा (रामविलास) नेता चिराग पासवानका लागि यो चुनाउ अत्यन्त महत्वपूर्ण सावित हुन सक्छ। उनी एनडीएभित्र उदीयमान शक्तिका रूपमा उदाउने सम्भावना छ। चुनाउपछि उनलाई कुनै ठूलो जिम्मेवारी दिइने सम्भावना पनि प्रबल छ। सीमाञ्चल क्षेत्रमा महागठबन्धनलाई केही लाभ मिल्न सक्ने भए पनि शहरी तथा मध्यम वर्गीय क्षेत्रमा एनडीएको प्रभाव बलियो रहने देखिन्छ। भाजपा, जदयू र लोजपा (रामविलास) को संयोजनले शहरी मतदातामा राम्रो पकड जमाइरहेको छ।
एनडीएको पक्षमा ज्योतिषीय संकेत
समग्र ज्योतिषीय विश्लेषण र अध्ययनका आधारमा डा. श्वेतांक मिश्रले भनेका छन्, बिहार विधानसभा चुनाउ २०२५ मा एनडीए गठबन्धन पुनः सरकार बनाउन सफल हुन सक्छ। यद्यपि राजनीतिक समीकरण समयसँगै बदलिन सक्छन्, तर ग्रह–नक्षत्रहरूको संकेत यस पटक स्पष्ट रूपमा एनडीएको पक्षमा देखिन्छ।
------------
हिन्दुस्थान समाचार / भवानी थामी