
इम्फाल, 26 अक्टोबर (हि.स.)। मणिपुर पुलिसले थौबल र इम्फाल जिल्लामा सञ्चालन गरेको अभियानमा प्रतिबन्धित संगठनहरू प्रीपाक (प्रो), केसीपी (ताइबाङ न्गांबा) र केवाईकेएलसँग सम्बन्धित ४ जना सक्रिय उग्रवादीलाई पक्राउ गरेको छ।
मणिपुर पुलिस मुख्यालयले शनिबार सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिअनुसार, थौबल जिल्लामा प्रीपाक (प्रो) का दुई जना कार्यकर्ता फरक–फरक स्थानबाट पक्राउ परेका छन्।तीमध्ये वाङजिङ होदंबा निवासी ३२ वर्षीय के. राजकुमार नेवी मैतेईलाई वाङजिङ बजारबाट र इम्फाल ईस्टको लिलोङ अराप्ती निवासी २७ वर्षीय के. थोङम रोनाल्डो सिंहलाई लिलोङ बजारबाट पक्राउ गरिएको हो।
दुवैजना वाङजिङ क्षेत्र र छेउछाउ जबरजस्ती असुली गतिविधिमा संलग्न रहेको आरोप छ। उनीहरूबाट एक ३६ एचई ह्यण्ड ग्रेनेड र दुई मोबाइल फोन बरामद गरिएको छ।
त्यसैगरी, इम्फाल ईस्ट जिल्लाको पोरोमपट अयांगपल्ली रोडमा अवस्थित जेएनआईएमएस नजिक गरिएको अर्को कारबाहीमा सुरक्षाबलले केसीपी (ताइबाङ न्गांबा) का सदस्य ६७ वर्षीय के. हुयाम रामेश्वर सिंह (उर्फ याइमा या तयाई) लाई पक्राउ गरेको छ।
इम्फाल वेस्ट जिल्लाको सिङजामेईमा गरिएको अर्को कारबाहीमा केवाईकेएलका कार्यकर्ता ३१ वर्षीय हेमरजीत लीशाङथेम (उर्फ लालू) लाई उनको घर लीशाङथेम लेइकाईबाट पक्राउ गरिएको छ। त्यहाँबाट एक मोबाइल सेट, एक आधार कार्ड र एक एयरटेल एयरफाइबर डिभाइस बरामद गरिएको छ।
अधिकारिहरूका अनुसार, यी पक्राउहरू क्षेत्रमा जबरजस्ती असुली र उग्रवादी गतिविधिहरू रोक्नतर्फ एक महत्वपूर्ण कदम हुन्। अनुसन्धान जारी रहेको जनाइएको छ। यसबीच सुरक्षाबलले जिल्लाका बाहिरी र संवेदनशील क्षेत्रहरूमा तलाशी अभियान र एरिया डोमिनेशन अपरेशन निरन्तर चलाइरहेको छ। राष्ट्रिय राजमार्ग–३७ हुँदै आवश्यक सामग्री बोकेका १२९ वटा सवारीसाधनहरूको सुरक्षित आवागमन सुनिश्चित गरिएको छ।
संवेदनशील स्थानहरूमा कडा सुरक्षा व्यवस्था गरिएको छ र सवारीसाधनहरूको स्वतन्त्र र सुरक्षित आवाजाहीका लागि सुरक्षाकर्मीको कन्वोय व्यवस्था गरिएको छ।
मणिपुरका विभिन्न जिल्ला — पहाडी र समथर दुबै क्षेत्रमा कुल ११४ वटा नाका/चेकपोइन्ट स्थापना गरिएको छ। हालसम्म थप कुनै व्यक्ति पक्राउ परेका छैनन्।
-------------
हिन्दुस्थान समाचार / भवानी थामी