राष्ट्रपति मुर्मुद्वारा अत्याधुनिक अस्पताल ‘यशोदा मेडिसिटी’ को उद्घाटन
Draupadi murmu


गाजियाबाद, २६ अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले गाजियाबादको इन्दिरापुरमस्थित अत्याधुनिक अस्पताल यशोदा मेडिसिटीको उद्घाटन गरेकी छन्। यस अवसरमा कडा सुरक्षा व्यवस्था अपनाइँदै ट्रान्स हिन्डन जोनलाई ‘नो–ड्रोन जोन’ घोषित गरिएको थियो र यातायात मार्ग पनि अस्थायी रूपमा परिवर्तन गरिएको थियो।

रविवार बिहान ठीक ११:३३ बजे राष्ट्रपति मुर्मु इन्दिरापुरमको शक्ति खण्ड–२ मा अवस्थित यशोदा मेडिसिटी अस्पताल परिसरमा पुगिन्। उनीसँगै भारतका रक्षा मन्त्री राजनाथ सिंह, केन्द्रिय मन्त्री अनुप्रिया पटेल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उपमुख्यमन्त्री बृजेश पाठकलगायत अनेक गण्यमान्य व्यक्ति उपस्थित थिए। राष्ट्रपति मुर्मुले १२०० शैय्या क्षमताको आधुनिक अस्पतालको विधिवत् रूपमा उद्घाटन गरिन्। मञ्चमा पुग्नु अघि उनले अस्पतालको भ्रमण गरी त्यहाँका अत्याधुनिक उपकरणहरू र उपलब्ध स्वास्थ्य सेवाहरूको जानकारी लिएकी थिइन्।

राष्ट्रपतिको स्वागतका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बिहानै कार्यक्रमस्थलमा पुगेका थिए र सबै तयारीहरूको निरीक्षण गरे। कार्यक्रममा सुरक्षाका लागि कमाण्डो र सुरक्षा बलहरू विगत साँझदेखि नै तैनाथ गरिएका थिए। कार्यक्रमस्थल र मार्गमा करिब दुई हजार सुरक्षाकर्मी परिचालित थिए। बिहानैदेखि पुलिस र प्रशासनिक अधिकारीहरूले स्थलको बारम्बार अनुगमन गर्दै सुरक्षासम्बन्धी सबै व्यवस्थाहरूको समीक्षा गरेका थिए।

राष्ट्रपतिको कार्यक्रमका कारण बिहानैदेखि यातायातलाई डाइभर्ट गरिएको थियो। भोपुरा र तुलसी निकेतनबाट हिन्डन एयरफोर्स गोलचक्करतर्फ जाने सबै भारी व्यावसायिक सवारी साधनको आवागमनमा रोक लगाइको थियो। ती सवारी साधनहरूलाई करनगेट गोलचक्कर हुँदै बीकानेर गोलचक्करबाट मोहननगरतर्फ पठाइयो। साथै, सीआईएसएफ कटबाट वसुन्धरातर्फ व्यावसायिक सवारीको आवाजाही पनि प्रतिबन्धित रह्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande