
सोनादा, 1 नोभेम्बर (हि.स.)। आगामी बाल दिवसको दिन दोस्रो जीटीए स्तरीय प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता 2025 सम्पन हुने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागद्वारा आयोजित दोस्रो जीटीए स्तरीय प्राथमिक पाठशाला प्रश्नोतर प्रतियोगिताको फाइनलको अन्तिम तयारी शुरु भएको छ।
गत 4 सेप्टम्बर, 2025 मा गोरुबथान सर्कलबाट शुरु भएर गत 23 सेप्टेम्बर, 2025 को दिन मङ्पूमा सर्कल स्तरीय प्रतियोगिताको साथमा समापन भएको थियो। अब 13 वटै सर्कलबाट छनौट भएर आएका 39 जना विद्यार्थीहरुलाई लिएर आगमी 14 नोभेम्बर बाल दिवसको उपलक्ष्यमा सुकना उच्चतर माध्यमिक विद्यालय परिसरमा दोस्रो जीटीए स्तरीय प्राथमिक पाठशाला प्रश्नोत्तरी प्रतियोगिता सम्पन्न हुने भएको छ।
विगत वर्षदेखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको निर्देशन अनि डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागका भारप्राप्त सभासद राजेस चौहानको पहलमा शुरु गरिएको हो। सरकारी प्राथमिक पाठशालाका स-साना विद्यार्थी नानीहरुलाई ठलो मञ्च प्रदान गरेर आफ्नो आत्माविश्वास र बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको यस कार्यक्रमलाई प्रेरणादायक मानिएको छ।
विगत पहिलो वर्षकोभन्दा यो वर्ष अझ रोचक अनि सुव्यवस्थित हुने कुरामा शिक्षा विभागका अधिकारीहरु आश्वस्त छन्। विगत वर्ष पहिलोपल्ट भएकोले त्यहाँ देखिएको कमी कमजोरीहरुलाई यस वर्ष पूर्ण रुपमा सच्चाउने काम गरिएको पनि जनाइएको छ। आगमी फाइनल प्रतियोगिताको निम्ति प्राथमिक शिक्षा विभागका अधिकारीवर्ग, शिक्षक शिक्षिकावर्ग पनि खूबै उत्साहजनक रुपमा तयारीमा लागेका छन्।
हिन्दुस्थान समाचार / हनोक