
पहाडमा पैह्रो पीडितहरुलाई लिएर व्यापक भ्रष्टाचार भएको छ: सञ्जीव लामा
खरसाङ, 20 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टीले आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर सांगठनिक गतिविधि तेज गर्दै सांगठनिक सभा शुरु गरेको छ। यस क्रममा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको उपस्थितिमा आज भाजपा खरसाङ विधानसभा क्षेत्रको सभा सम्पन्न भयो। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भाजपाको सांगठनिक सभाको अध्यक्षता भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गरेका थिए।
सभामा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष आरबी लामा, सोसियल मिडिया प्रभारी चन्दन प्रसाद, जिल्ला सचिव बिनय प्रसाद, राज्य सदस्यहरु मनोज देवान र हरि निरौलाले पनि वक्तव्य राखे। वक्ताहरुले भारतीय जनता पार्टीको सांगठनिक गतिविधि, मतदाता विशेष गहन संसोधन एसआईआर, आगामी चुनाउ लगायत अन्य विषयमा वक्तव्य राखे।
सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले आफु दार्जिलिङ जिल्ला अध्यक्ष बनेपछि पहिलोपटक खरसाङमा सांगठनिक सभा आयोजना गरेको बताउँदै सभामा पार्टीको सांगठनिक चर्चा, एसआईआर विषय र आगामी चुनाउलाई लिएर चर्चा परिचर्चा गरिएको बताए। उनले इन्टरलोक्युटर नियुक्ति विषयमा पनि पत्रकारहरुलाई जानकारी गराउँदै इन्टरलोक्युटरको दिल्लीमा कार्यालय खोलिएको र उनी दार्जिलिङमा आएर गोर्खाहरुको समस्या विषयमा यहाँको स्टेक होल्डरहरूसित सभा गर्ने जानकारी गराए।
पत्रकारहरुले सोधेका प्रश्नको उत्तरमा उनले इन्टरलोक्युटर कहिले आउने त्यो अहिले नै भन्न नसकिने, तर उनी आएर यही बसेर यहाँका स्टेक होल्डरहरूसित सभा गर्ने जानकारी गराए। उनले भने, 'इन्टरलोक्युटरलाई लिएर पहाडमा विवाद सिर्जना गरे पनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले इन्टरलोक्युटरको नियुक्तिलाई लिएर यसको विरोध गर्दै दुईपल्ट प्रधानमन्त्रीलाई पत्राचार गरेको कुराले इन्टरलोक्युटर महत्वपूर्ण छ भन्ने स्पष्ट हुन्छ। त्यसैले इन्टरलोक्युटर विषयमा कन्फ्युज नहुँदा पनि हुन्छ।'
उनले वर्तमानमा चलिरहेको मतदाता सूचीको विशेष गहन संसोधन एसआईआर विषयमा भने, एसआईआर विषयमा दु:ख पायो भने यसमा तृणमूल र भागोप्रमोले भाग नलिए हुन्छ। यो एसआईआर भाजपाको होइन, तर यो त निर्वाचन आयोगले नितान्त स्वतन्त्र रूपमा आयोजना गरेको हो र यो जुन 2002 मा पनि भएको थियो। एसआईआर विषयमा कसैलाई केही समस्या भएमा भाजपाको बीएलए, मण्डलका प्रतिनिधिहरु र हामी पनि छौं। खाटी भारतीयहरुलाई एसआईआरमा कुनै असुविधा हुने छैन, तर दोहोरो नागरिकता भएकाहरुको चै ग्यारेन्टी लिन सक्दैनौं। खाटी भारतीयहरुका लागि हामी सहयोग गर्न तयार छौं।'
दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गत 4 अक्टोबरको राति आएको अविरल वर्षाका कारण पहाडमा आएको प्राकृतिक प्रकोपमा पहाडमा भ्रष्टाचार भएको पनि आरोप लगाएका छन्। उनले भने, 'राज्य सरकारले डिजास्टर घोषणा गरेन। यदि केन्द्र सरकारले डिजास्टर घोषणा गरेको भए केन्द्रबाट पनि फण्ड आउने थियो। तर यहाँ केन्द्रबाट मृतकहरुलाई दुई लाख गरेर अनि घाइतेहरुलाई पचास हजार गरेर प्रदान गरिने राशिको लागि पनि कुनै रिपोर्ट बुझाएका छैनन्। यसले गर्दा पाउने सहुलियतहरु पनि पाएका छैनन्।'
लामाले भने, 'पीडितहरुमा पञ्चायत प्रधानको नाम रहेको छ। सभासदको छोराको नाम रहेको र यतिसम्म कि नवौं श्रेणीमा पढ्ने नानीको पनि पीडितको लिस्टमा नाम भएकोले अचम्म भएको छ। तर, पैह्रो पीडितहरुको नाम चाहीँ छोडिएको छ।'
सञ्जीव लामाले भने, अब पहाडमा परिवर्तन आउनुपर्छ। जनताले पनि बुझेर यस्ताहरुलाई चौकीबाट हटाउनुपर्छ। भारतीय जनता पार्टी सदैव जनताको हित र अधिकारको लागि बोल्नेछ। निमुखा जनताको लागि बोल्छौं। भ्रष्टाचारपूर्ण कामको सही ढंगमा विरोध जनाउनेछौं।'
हिन्दुस्थान समाचार / हनोक