
यो श्रमिक आवास गृह कल्याण पूर्वाधार सुदृढतर्फको अर्को महत्वपूर्ण कदम हो: राजेस चौहान
सोनादा, 20 नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको श्रम विभाग अन्तर्गत निर्माण भइरहेको डागापुर, दार्जिलिङ मोड नजिकै श्रमिक आवास गृह अब पूरा हुने चरणमा पुगेको छ। यो परियोजनाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको जनताप्रतिको प्रतीबद्धता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेस चौहानले थालनी गरी निरन्तर अघि बढाएको प्रयासलाई प्रतिबिम्बित गरेको बताइएको छ।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेस चौहानले बिहिवार श्रमिक आवास गृह चाँडै नै आफ्नो लक्ष्यअनुसार सेवा दिन तयार हुनेछ भनी बताए। उनले यस पूर्वाधारलाई क्षेत्रको कल्याण पूर्वाधार सुदृढतर्फको अर्को महत्वपूर्ण कदम बताउॅंदै यो श्रमिक आवास गृह सिलगढी उपचारका लागि आउने चिया बगानका श्रमिकहरू र परीक्षामा सहभागी हुन तथा अन्य आवश्यकताका लागि आउने उनका छोरा छोरीहरूका लागि निर्माण गरिएको बताए।
उल्लेखनीय छ, गत वर्ष 7 मार्च, 2024 को दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले यस भवन निर्माण कार्यको आधारशिला राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक