
गान्तोक, 28 नोभेम्बर (हि.स.)। सत्तारुढ़ एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले कथित एसडीएफ पार्टीद्वारा सञ्चालित एक फेसबुक प्रोफाइलमा साझा गरिएको त्यस पोस्टको खण्डन गरेका छन्, जसमा राज्य स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल र प्रभाकर गोलेबीच झगड़ा भएको दाबी गरिएको छ। उनले उक्त आरोप पूर्णरूपमा गलत र आधारहीन रहेको आज जारी प्रेस विज्ञप्तिमा स्पष्ट गरेका छन्।
उनले एसडीएफ ह्यान्डलबाट यस्तो गैरजिम्मेवारपूर्ण गलत सूचना अत्यन्तै भ्रामक र अस्वीकार्य रहेको बताउॅंदै यस्ता असामाजिक दाबीहरू फैलाउनेहरू विरुद्ध तुरुन्तै कारबाही गर्न पुलिस अधिकारीहरूलाई आग्रह गरेका छन्। यसले १९९३-९४ मा एसडीएफले सिक्किमका शान्तिप्रेमी मानिसहरूलाई जातिको आधारमा विभाजित गरेर राज्यको जातीय सद्भावलाई कमजोर बनाएको घटनाको स्मरण गराउॅंछ भनी उनले उल्लेख गरेका छन्।
अर्कातिर, प्रवक्ता खालिङले फेरि एक पटक एसडीएफले पुरानै र भेदभावपूर्ण कथाहरूलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले आजको शिक्षित र सचेत सिक्किमी समाजले यस्तो विभाजनकारी राजनीतिलाई दृढ़तापूर्वक अस्वीकार गर्नेछ भनी विश्वास पनि व्यक्त गरेका छन्।
उनले मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा एसकेएमले सबै समुदायहरूलाई एकताबद्ध गरेको तथा उनीहरूको मर्यादा, विकास र प्रगतिलाई प्राथमिकता दिएको बताएका छन्। यो सत्यलाई स्वीकार गर्न असमर्थ एसडीएफले गलत सूचना र आधारहीन आरोपहरूको सहारा लिइरहेको उनले बताएका छन्। सिक्किमका सचेत जनताले झूट र डरको माध्यमबाट हाम्रो एकतालाई बिगार्ने प्रयासलाई सहने छैन भनी उनले चेताउनी पनि दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल