मन्त्री एनबी दाहाल र मन्त्री राजु बस्नेतद्वारा निर्माणाधीन सड़कहरूको निरीक्षण
Nb dahal-raju basnet


गान्तोक, 3 नोभेम्बर (हि.स.)। सडक तथा पुल विभागका मन्त्री एनबी दाहालले आज साम्दुर 6 माइलको ओरेन्ज भिलेज हुँदै जालीपुल-बासिलाखा सड़क खण्डमा भइरहेको निर्माण कार्यको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री राजु बस्नेत पनि सहभागी थिए।

मन्त्रीद्वयले सड़क निर्माणको गुणस्तर, प्रगतिस्थिति र कामको द्रुत गतिबारे जानकारी लिए। उनीहरूले सम्बन्धित ठेकादार र विभागीय अधिकारीलाई निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। साथै, सड़क निर्माणलाई अझ तीव्रता दिने र स्थानीय यातायात व्यवस्थापनलाई सहज बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिए।

यो सडक निर्माण कार्यले स्थानीय बासिन्दाको आवागमन र आर्थिक क्रियाकलाप सहज बनाउने अपेक्षा गरिएको छ। निरीक्षणका क्रममा विभागीय प्रमुख अभियन्ता बसन्त तामाङ, प्रधान अभियन्ता नोभिया गुरुङ, डीई विकास प्रधान, एई नवीन छेत्री, जेई लगायत विभागका प्राविधिक कर्मचारी र स्थानीय जनता उपस्थित थिए।

सड़क निर्माण कार्यको प्रगति र गुणस्तरबारे प्रत्यक्ष जानकारी लिँदै मन्त्री दाहालले सरकार जनताको हितका लागि आवश्यक पूर्वाधार विकासमा प्रतिबद्ध रहेको बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande