
गान्तोक, 4 नोभेम्बर (हि.स.)। पूर्व सिक्किमको 17 माइल, छाङ्गुमा आज, मंगलवारदेखि हप्ताव्यापी उच्च उचाई आपदा उद्धार प्रशिक्षण शुरू भएको छ। 10,500 फुटको उचाईमा भइरहेको यो प्रशिक्षण आगामी 8 नोभेम्बर, 2025 का दिन समाप्त हुनेछ। यस्तो उचाईमा आयोजना गरिएको यो पहिलो प्रकारको कार्यक्रम रहेको बताइएको छ।
कार्यक्रमको आयोजना जिल्ला आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए) गान्तोकले माउण्टेन एडभेन्चर इन्स्टीट्यूट अफ् सिक्किम (एमएआईएस) ले जिल्लापाल एवं डीडीएमए अध्यक्ष तुषार जी निखारेको निर्देशनमा गरिरहेको छ। प्रशिक्षणले स्थानीय स्वयंसेवकहरू र उच्च उच्चाई क्षेत्रहरूमा कार्यरत पहिलो प्रतिक्रियाकर्ताहरूको तयारी र प्रतिक्रिया क्षमता अभिवृद्धि गर्नु रहेको बताइएको छ।
उद्घाटन सत्रमा गान्तोकका एडीसी सिसुम वाङ्चुक भोटिया मुख्य अतिथि थिए। उनले सहभागीहरूलाई यस अद्वितीय र चुनौतीपूर्ण प्रशिक्षण कार्यक्रममा भाग लिइरहेकोमा बधाई दिए। उनले सहभागीहरूको उत्साहको सराहना गर्दै समर्पणका साथ प्रशिक्षण पूरा गर्न आह्वान गरे।
यस अघि डीडीएमएका निदेशक सोनाम वाङ्ग्याल लेप्चाले छाङ्गु जस्तो प्राकृतिक प्रकोपको जोखिम क्षेत्रमा यस्तो विशेष प्रशिक्षणको महत्वमाथि प्रकाश पारे, जहॉं बाह्य निकायहरूबाट तत्काल प्रतिक्रिया प्रायः भू-भाग र मौसमी चुनौतीहरूको कारणले ढिलाइ हुन्छ। उनले स्थानीय स्वयंसेवकहरूलाई प्रशिक्षण दिनाले उद्धार कार्यको गति र प्रभावकारितामा उल्लेखनीय सुधार हुने कुरामा जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल