
क्रिसमस अघि हाजिरा र वेतन पाउनु पर्ने माग
खरसाङ, 22 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि आफ्नो दैनिक हाजिरा र वेतन नपाएको जानकारी प्राप्त भएको छ। यसलाई लिएर हिल प्लाण्टेशन लेबर युनियनले असन्तुष्टि व्यक्त गरेको छ।
यसबारे जानकारी गराउँदै सङ्गठनको पक्षबाट शाखा सभापति विन्ध्या थापाले क्रिसमस पर्व अर्थात् बडा दशैँ तीन दिन मात्र बाँकी रहेको, तर लङ्भ्यू चिया बगानका श्रमिकहरूले गत तीन महिनाको हाजिरा समेत नपाएको तथा स्टाफहरूले गत 6 महिनाको वेतन नपाएको बताएकी छन्। थापाले जनाए अनुसार, बारम्बार बैठक र सम्झौतापछि पनि लङभ्यू चिया बगान मालिक गोविन्द गर्गको हैकमवाद जारी छ। बगान मालिक गर्गले प्रबन्धक एपी सिंह मार्फत लङ्भ्यू चिया बगानका श्रमिकहरूलाई वेतन र ज्याला विहीन काममा खटाइरहेका छन्। श्रमिक भवनमा बारम्बार ज्याला र वेतनबारे बैठक हुँदा श्रम विभागका अधिकारीहरूले ज्याला वेतन नियमित रूपमा दिनु पर्ने आदेश जारी गर्दा पनि बगान मालिक गोविन्द गर्गले आफ्नो हैकमवाद जारी राखेका छन्।
उनले भनिन्, विशेष लङभ्यू चिया बगानको तीन नम्बर अनि प्लेन लाइनका अधिकांश श्रमिक परिवारहरू इसाई धर्ममा विश्वास राख्छन्। 25 दिसम्बर उनीहरूको निम्ति महत्त्वपूर्ण पर्व हो। तर, विगत 6 महिनादेखि उनीहरूले वेतन पाएका छैनन्। मालिकले तीन महिनादेखि ज्याला नदिएकोले तिनीहरूले राम्रोसँग चाड मनाउन पनि नपाउने स्थिति आएको बताएकी छन्।
लङ्भ्यूको स्थितिबारे हिल प्लाण्टेसन इम्प्लोइज युनियन लङभ्यू शाखाले लगातार रूपमा आवाज उठाइरहेको दावी गर्दै सोमवार पनि युनियन अध्यक्ष विन्ध्या थापाको नेतृत्वमा युनियन प्रतिनिधि साथै कार्यकर्ताहरूले बगान कार्यालय पुगेका थिए। थापाले 25 दिसम्बर अघि नै श्रमिकहरूलाई उनीहरूको हाजिरा र वेतन दिनु पर्ने माग गर्दै यस विषयमा एलसी खरसाङले हस्तक्षेप गर्नु पर्ने बताएकी छन्।
हिन्दुस्थान समाचार / हनोक