
गान्तोक, 22 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले राजधानीको वेलनेस पार्कलाई तम्बोलाको लागि प्रयोग गर्न अनुमति दिएकोमा राज्य सरकारको तीव्र आलोचना गरेको छ। एसडीएफले सरकारको यस निर्णयलाई सार्वजनिक सम्पत्तिको दुरुपयोग ठहर गर्दै निन्दा गरेको छ।
एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा गान्तोकमा निर्माण गरेको वेलनेस पार्क हाल 18 दिसम्बरदेखि 18 जनवरीसम्म तम्बोला खेलहरू आयोजना गर्न प्रयोग भइरहेको थाहा लागेको जनाएको छ। यो वेलनेस पार्क विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र परिवारहरूको लागि स्वास्थ्य, मनोरञ्जन र कल्याण प्रवर्द्धन गर्न सार्वजनिक स्थानको रूपमा परिकल्पना गरिएको हो भन्ने एसकेएम सरकारको दाबी विपरित यो पार्क प्रयोग भइरहेको एसडीएफले बताएको छ।
एसडीएफले यो जुवा गतिविधि बालबालिकाहरू आउने ठाउँमा भइरहेको बताउॅंदै यसले गम्भीर नैतिक र सामाजिक चिन्ताहरू बढाइरहेको बताएको छ। एसकेएम सरकारले फेरि एक पटक शासन भन्दा मनोरञ्जन, वास्तविक सार्वजनिक कल्याण भन्दा जुवा, र जवाफदेहिता भन्दा दुरुपयोग भन्ने आफ्ना प्राथमिकताहरू प्रदर्शन गरेको एसडीएफले आरोप लगाएको छ।
एसडीएफले सार्वजनिक सम्पत्तिहरू सिक्किमका जनताका हुन् भन्दै यी सम्पत्तिहरू एसकेएम सरकारको कुशासन र जुवा गतिविधिहरूका लागि खेल मैदान होइनन् भनी बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल