
गान्तोक, 23 दिसम्बर (हि.स.)। पूर्व सिक्किमको रिनाक सरकारी महाविद्यालयले पाकिम जिल्ला अन्तर्गत विभिन्न उच्चतर माध्यमिक विद्यालयका 12औं श्रेणीका विद्यार्थीहरूलाई लिएर राष्ट्रिय शिक्षा नीति (एनईपी) 2020 माथि एक अभिमुखीकरण कार्यक्रम आयोजन गऱ्यो। महाविद्यालयकी प्राचार्य डा. शोभा शर्मा वशिष्टको निर्देशन र मार्गदर्शनमा आयोजित उक्त कार्यक्रमको उद्देश्य विद्यार्थीहरू र विद्यालय प्राधिकारहरूलाई एनईपी 2020 मा प्रस्तुत गरिएका सुधारहरूको बारेमा जागरूक गर्नु रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।
जिल्ला शिक्षा कार्यालय, पाकिमको पहल र सहयोगमा 26 नोभेम्बरमा पाकिम जिल्ला अन्तर्गत सबै १२ उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूका लागि अभिमुखीकरण सत्रको साथ कार्यक्रम शुरु गरिएको थियो। अभिमुखीकरण एनईपी २०२० को दृष्टिकोण, उद्देश्य र कार्यान्वयन ढाँचासँग प्रधानाध्यापकहरूलाई परिचित गराउनमा केन्द्रित थियो। यसपछि, 2 देखि 11 दिसम्बरसम्म विद्यालयहरूको भ्रमण गरेर विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरियो।
स्रोत वक्ताद्वय एनईपी समन्वयक तुलसी शर्मा र एनईपी समन्वयक डा. छुनुमाया गिरीले प्रतिभागीहरूलाई एनईपी 2020 मा प्रस्तुत गरिएका सुधारहरूको बारेमा जानकारी गराएका थिए। यस क्रममा पाकिम जिल्लाका 10 उच्चतर माध्यमिक विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको र यस पहलले स्कूल शिक्षा र उच्च शिक्षाबीचको खाडललाई भर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल