
बाग्राकोट, 26 दिसम्बर (हि.स.)। वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ालाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार-२०२६ अर्पण गरिने भएको छ। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, डुवर्सका सचिव रूपेश शर्माले आज एक प्रेस विज्ञप्तिमार्पत यस घोषणाको जानकारी दिएका छन्।
प्रतिष्ठानले जनाएअनुसार, बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा बिहीवार बाग्राकोटमा बसेको बैठकमा सर्वसम्मतिले खतिवड़ाको नामलाई अनुमोदित गरेको हो। आगामी १८ जनवरी, २०२६ का दिन बाग्राकोटमा आयोजन हुने ९८ औँ बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा सालबारी निवासी वरिष्ठ कवि खतिवड़ालाई पुरस्कारद्वारा अलङ्कृत गरिनेछ।
प्रसिद्ध साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा सन् २०१० मा गठित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले सन् २०१२ देखि नेपाली साहित्यका समर्पित साधकलाई प्रत्येक वर्ष यो पुरस्कार अर्पण गर्दै आएको छ। पुरस्कारमा स्मृति-चिन्ह, अङ्ग-वस्त्र र नगद राशि सम्मिलित रहनेछ।
२५ दिसम्बर, १९५४ मा सुकनानजिक सालबारीमा माता यशोधा घिमिरे र पिता जयप्रसाद खतिवड़ाको कोखमा जन्म लिएका ज्ञानेन्द्र खतिवड़ाले आफ्नो प्राथमिक शिक्षा दार्जीलिङस्थित स्कट मिशन स्कूल (सिङमारी फाटक स्कूल)-मा पूरा गरी म्युनिसिपल बोयज हाई स्कूलबाट स्कूल फाइनल गरेका हुन्। त्यसपछि उनले प्राइभेटबाट पी.यू. (प्रि युनिभर्सिटी) र बी.ए. पास गरे। सन् १९८७-८८ मा उनले दार्जीलिङस्थित रामकृष्ण बी.एड. कलेजबाट बी.एड. गरी शिक्षकका लागि आवश्यक तालिम पूरा गरे। उनले सन् १९८४ मा उत्तर बङ्गाल विश्वविद्यालयबाट नेपालीमा रेगुलर एम.ए. पनि गरे। दुई वर्ष नेपालको इलाममा छँदा सन् १९७३ मा उनको पहिलो कविता ‘देवकोटा’ शीर्षकमा ‘सौगात’ पत्रिकामा छापिएको थियो। इलाममा छँदा नै उनले ‘थुँगा’ पत्रिकाको पनि सम्पादन गरे। त्यसपछि सिलगढ़ीमा शिक्षण पेशा अप्नाएपछि लगभग ३७ वर्ष यसै पेशामा आफूलाई समर्पित गरे। प्रसिद्ध साहित्यकार, चिन्तक एवं अध्येता दान खालिङद्वारा सिलगढ़ीको प्रधाननगरमा स्थापित डा. आईबी थापा उच्चतर माध्यमिक विद्यालयमा उनले सन् १९७८ देखि २०१५ सम्म शिक्षणकार्य गरी अहिले अवकाशकालीन समय नेपाली साहित्यको श्रीवृद्धिमा खर्चिरहेका छन्। दान खालिङको सान्निध्यले उनको लेखनलाई प्रोत्साहन प्राप्त भएको थाहा लाग्दछ।
गहन अध्ययन, चिन्तनसँगै सिर्जनालाई सार्विकता र गुणात्मकताको मार्गमा डोहोऱ्याउन सधैँ प्रयासरत रहने कवि खतिवड़ाका दुईवटा काव्यकृति प्रकाशित छन्- ‘खस्नै लागेको उज्यालोमा’ (सन् १९९५) र ‘ऐना अघिल्तिर’ (सन् २०२३)। पहिलो कृति नृहार प्रकाशन गृह, काठमाडौँले प्रकाशित गरेको हो भने दोस्रो कृति बुक आन्ट, सिलगढ़ीबाट प्रकाशित छ। पछिल्ला पाँच दशकदेखि लेखन र अध्ययनमा सक्रिय खतिवड़ाका कथाहरू ‘समकालीन’, ‘कादम्बरी’ सहित थुप्रै स्तरीय पत्रिकाहरूमा प्रकाशित छन्। उनको एउटा कथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको जानकारी पाइएको छ। एक निबन्धकारका रूपमा पनि उनको परिचय छ। एक चिन्तनशील सर्जकका रूपमा उनी नेपाली साहित्यमा परिचित छन्। समवयसी र युवा सर्जकहरूलाई सिर्जनात्मक काममा हातेमालो र प्रोत्साहित गर्दै अघि बढ्नमा उनी विशेष रूपले तल्लीन रहन्छन्।
खतिवड़ाबारे प्रसिद्ध चिन्तक दान खालिङ भन्छन्-“ज्ञानेन्द्र वैचारिक दिशामा प्रौढ़तातिर ढल्केको प्रस्ट छ। यिनको जीवनको भोगाइ तिक्खर छ।” यसैगरी, नेपालका प्रसिद्ध साहित्यकार अविनाश श्रेष्ठ उनीबारे भन्छन्-“कवि ज्ञानेन्द्रसँग अनुभूतिको नौलो संसारसँगै शिल्प-सचेतता पनि छ। ठाउँ-ठाउँमा उक्ति चमत्कारका माधुर्यले उहाँका कविताहरूलाई अझ मोहनीय बन्नमा सघाएका छन्।” साहित्येतिहासका लेखक घनश्याम नेपालले उनलाई ‘उत्तर-प्रयोगकालीन कवि’ र ‘नव युगको सरल अभिव्यञ्जनापूर्ण शैलीका विशिष्ट प्रयोक्ता’-का रूपमा चिनाएका छन्।
सालबारी क्षेत्रमा विशिष्ट साहित्यकारहरूको स्तरीय मञ्च ‘शब्द समय’ गठनमा खतिवड़ाको नेतृत्वदायी भूमिका रहेको छ, जुन मञ्चले सन् २०१३ देखि मासिक रूपमा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कोरोनाकालमा समेत यो मञ्चले आफ्नो कार्यक्रम जारी राखेको थियो। ‘शब्द समय’-ले जनवरी २०२६ मा आफ्नो १५० औँ प्रकरण आयोजन गर्दैछ।
नेपाली साहित्यका केही प्रतिष्ठित पुरस्कारहरूमध्ये एक बद्रीनारायण प्रधान स्मृति पुरस्कारको घोषणा साहित्यकारहरूबीच सधैँ चासो र उत्सुकताको विषय रहने गरेको छ।
प्रतिष्ठानले गरेको निर्णयपछि पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालले भने, “ज्ञानेन्द्र खतिवड़ा सोच-विचार गरेर कलम चलाउने सर्जक हुन्। उनी थोरै लेख्छन् तर गहिरो लेख्छन्। निरन्तर अध्ययन उनको एउटा विशेषता हो। उनी नेपाली साहित्यका साधक हुन्। एक विशिष्ट कवि सँगसँगै एक गम्भीर अध्येतालाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्राप्त हुनु अत्यन्त हर्षको विषय हो।”
यसैगरी, डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रविन खवासले पनि ज्ञानेन्द्र खतिवड़ाको काव्यिक उँचाइ, निर्भीक लेखन र गहन सिर्जना बद्रीनारायण प्रधान स्मृति पुरस्कारबाट सम्मानित हुनु अत्यन्त खुशीको विषय रहेको मन्तव्य गरे।
आगामी १८ जनवरी, २०२६ का दिन पश्चिम डुवर्सको बाग्राकोटमा आयोजन हुने एक भव्य साहित्यिक समारोहमा खतिवड़ालाई पुरस्कारद्वारा अलङ्कृत गरिने बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका सचिव रूपेश शर्माले जानकारी दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल