
गान्तोक, 26 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले दिल्लीमा केन्द्रिय जल शक्ति मन्त्री डा. राज भूषण चौधरीसँग भेट गरेर सिक्किममा देखिएको गम्भीर जल संकटबारे छलफल गर्यो। प्रदेश भाजपा टोलीमा अध्यक्ष थापा लगायत महासचिव अर्जुन राई, कोषाध्यक्ष कैलाश अग्रवाल तथा गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जे लेप्चा सामेल थिए।
यस भेटका क्रममा प्रतिनिधिमण्डलले केन्द्रिय मन्त्रीलाई राजधानी गान्तोक तथा वरपरका क्षेत्रहरूमा पिउने पानीको गम्भीर अभाव रहेको जानकारी गरायो। बढ्दो जनसंख्या र पुराना तथा जर्जर पाइपलाइन र भण्डारण संरचनाका कारण समस्या झन् गहिरिएको उनीहरूले अवगत गराए। धेरै नदीहरूको भूमि भए तापनि पानी छिट्टै बगेर जाने वा पूर्वाधार कमजोर भएकाले जनतासम्म पानी नपुगिरहेको अवस्थाबारे अवगत गराए।
यस अभावले स्थानीय परिवारहरू मात्र होइन, पर्यटन उद्योगलाई समेत ठूलो क्षति पुर्याइरहेको छ भन्दै भाजपा प्रतिनिधिमण्डलले होटलहरू सञ्चालन गर्न कठिन भइरहेको र व्यस्त सिजनमा पर्यटकहरू समयअगावै फर्किन बाध्य बनिरहेको पनि बताए।
यस अतिरिक्त, केन्द्र सरकारको ‘जल जीवन मिशन’ कार्यक्रमबारे चर्चा गर्दै भाजपा नेताहरूले सिक्किममा यस परियोजनाका लागि केन्द्र सरकारले ₹१,३०० करोडभन्दा बढी रकम जारी गरिसकेको भए पनि उपलब्धि अत्यन्त न्यून रहेको औंल्याए। छवटै जिल्लाका गाउँहरूमा गरिएको स्थलगत अवलोकनका क्रममा धेरै ग्रामीण घरधुरीमा अझै पानी जडान नपुगेको पाइएको केन्द्रिय मन्त्रीलाई बताए। प्रतिनिधिमण्डलले उक्त रकम कसरी खर्च भयो र परियोजनाले किन जनतासम्म पानी पुर्याउन असफल भयो भन्ने विषयमा पूर्ण छानबिनको माग राखेको छ।
केन्द्रिय मन्त्री डा. चौधरीले यी सबै चिन्ताहरू गम्भीरतापूर्वक सुने र समस्याहरू समाधान गर्न आवश्यक कदम चाल्ने आश्वासन दिएको भाजपा सिक्किमले आज एक प्रेस विज्ञप्तिमा बताएको छ। भाजपा सिक्किमले सरकारलाई उत्तरदायी बनाउने र राज्यका प्रत्येक नागरिकलाई स्वच्छ तथा भरपर्दो पानीको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
हिन्दुस्थान समाचार / बिशाल