सिलगडी नेपाली साहित्य संस्थानद्वारा आफ्नो १४औँ स्थापना दिवस पालन
Sikkim university


प्रगतिवादी विचारधाराका साहित्यहरूको रचना र पठन आवश्यक छ: नन्द हाङ्खिम

गान्तोक, 26 दिसम्बर (हि.स.)। शुक्रबारका दिन सालबाडीस्थित प्रज्ञा भवनमा सिलगडी नेपाली साहित्य संस्थानले आफ्नो १४औँ स्थापना दिवस, ९८औँ अगमसिंह गिरी जन्म जयन्ती अनि ७औँ दान खालिङ साहित्य सम्मान कार्यक्रम पालन गऱ्यो। संस्थानका अध्यक्ष डा देवचन्द्र सुब्बाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा दान खालिङका परिवारबाट नओमी खालिङ प्रमुख अतिथि एवम् दान खालिङ साहित्य सम्मान प्रापक वरिष्ठ साहित्यकार नन्द हाङ्खिम विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

संस्थानले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा कवि अगमसिंह गिरीको जन्म जयन्ती पनि पालन गरेको थियो। यस अवसरमा प्रोफेसर डा धनीराज छेत्रीले कवि अगमसिंह गिरीका कविता र समसामयिक सन्दर्भलाई लिएर सारगर्भित वार्ता प्रस्तुत गरे। आफ्नो वार्तामा उनले कवि पीडा र वेदनाका कवि मात्र होइनन् उनी यौवनका कवि, युवा प्रेरणाका कवि, ऊर्जाका कवि हुन् भन्दै गिरीका कविताहरूले पुस्ता पुस्तालाई प्रेरणा दिइरहन्छ भन्ने विचार राखे। कवि गिरीका कवितामा भएको पीडा वास्तवमा हामी सबैको पीडा हो तर व्यक्तिगत पीडाबाट सामाजिक र सामाजिक पीडाबाट जातीय पीडा बनेर नै कवितामा अभिव्यक्त भएको हो भन्ने विचार उनले राखे।

कवि दान खालिङका बारे कवि मोहन ठकुरीले आफ्नो अनुभव एवम् दान खालिङको अनुवाद कलाबारे विचार राखे। उनले कवि स्वयंका कविताहरू अङ्ग्रेजीमा अनुवाद गरेका थिए र त्यो अनुवाद मूल कविताभन्दा पनि स्तरीय थियो भन्ने विचार कवि ठकुरीले राखे।

साहित्यकार नन्द हाङ्खिमले आफ्नो मनतव्य राख्रे क्रममा कवि दान खालिङ स्वयं पनि प्रगातिवादी र प्रगतिशील विचारधाराका कवि थिए र आफू पनि उही धारामा रुचि राख्ने भएकाले यो सम्मान मेरा लागि अमूल्य छ भन्ने विचार राखे। उनले प्रगतिवादी विचारधाराका साहित्यहरूको रचना र पठन आवश्यक छ साथै विश्वमा पुँजीवादी विचारधारा र जीवनशैलीको बढ्दो स्थिति देख्दा प्रगतिवादी साहित्यको अत्यन्तै आवश्यक छ भन्ने विचार पनि साझा गरे।

संस्थानका अध्यक्ष डा देवचन्द्र सुब्बाले कुनै पनि साहित्यिक संस्था वा सामाजिक संस्थाले समाजको विचारधारा र विचार गर्ने प्रक्रियामा परिवर्तन गराउन सक्नु पर्छ भन्ने विचार राख्दै राजनीतिक, सामाजिक, धार्मिक अनि साहित्यिक संस्थाहरूले वर्तमान समाजको सामूहिक चेतनामा जिम्मेवारी र उत्तरदायित्वको बोध गराउन सक्नु पर्छ भन्ने विचार साझा गरे।

कार्यक्रममा बालकलाकार निवृत्ति शर्माले आफ्नो समधुर स्वरमा दुईवटा गीत प्रस्तुत गरेकी थिइन् भने अभिसङ्गी कवि पवित्र लामाले दुईवटा कविता प्रस्तुत/प्रदर्शन गरेकी थिइन्। दान खालिङका परिवार पक्षबाट नओमी खालिङले नगद २० हजार स्मृति चिह्न प्रदान गरिन् भने संस्थानका संरक्षक द्वय डा रन्जी इडेन वाङदी अनि कवि वीर्ख खड्का डुवर्सेलीको बाहुलीबाट प्रशंसा पत्र एवम् अङ्गवस्त्र प्रदान गरे।

कार्यक्रममा महाविद्यालय र विश्वविद्यालयका प्राध्यापकगण, वरिष्ठ साहित्यकार, विद्यार्थी शोधार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande