
गान्तोक, 26 दिसम्बर (हि.स.)। पाकिम जिल्लाको मामरिङ निवासी एक व्यक्ति साइबर फ्रडको जालमा परेर हजारौं रूपियॉं गुमाएका छन्। धेरै अनि छिटो पैसा कमाउने लोभका कारण उक्त व्यक्तिले पैसा कमाउनुका सट्टा उल्टै आफ्नै पैसा गुमाएका छन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, मामरिङ निवासी स्थानीय एक व्यक्तिले गत बुधवार सीआईडीमा आफु साइबर फ्रडको शिकार बनेको जनाउॅंदै अज्ञात व्यक्ति विरुद्ध शिकायत दर्ता गराएका छन्।
पीडित व्यक्तिले बताएअनुसार, उनले इन्स्टाग्राममा स्टक मार्केट सम्बन्धित एउटा लिङ्कमा क्लिक गर्दा व्हाट्सएप खोलियो र अज्ञात व्यक्तिसॅंग च्याट शुरू भयो। उक्त व्यक्तिले उनलाई स्टक मार्केटमा नाफा वृद्धिको लोभ देखाउॅंदै निवेश गर्न लगाए। यसपछि, उनले 19 हजार 250 रूपियॉं निवेश गरे। आरोपी व्यक्तिले 57 हजार 820 रूपियॉं नाफा भएको स्क्रिनशट देखाउॅंदै उनलाई 18 हजार रूपियॉं जीएसटी भर्न लगाए। तर, उनी सतर्क बने र आफु साइबर फ्रडको शिकार बनेको थाहा पाए।
यस घटनाको सम्बन्धमा एनसीआरपीमा मामिला दर्ता गरिएको छ र पीडित व्यक्तिलाई रम्फू पुलिस थानामा सम्पर्क गर्न सुझाउ दिइएको रिपोर्टमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल