

गान्तोक, 26 दिसम्बर (हि.स.)। भगवान् श्री सत्य साई बाबाको दिव्य पादुका (चरण) प्रशान्ति निलयमबाट सिक्किम ल्याइएको छ। लगभग 200 केजी वजन भएको पवित्र पादुका गत 25 दिसम्बरका दिन सिक्किम ल्याइएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
जानकारी अनुसार, भगवान श्री सत्य साई बाबाको पवित्र पादुका (दिव्य चरण) आन्ध्र प्रदेश राज्यको प्रशान्ति निलयम, पुट्टपर्तीबाट श्री सत्य साई केन्द्रिय ट्रस्टका ट्रस्टी आरजे रत्नाकरको बाहुलीलबाट 20 दिसम्बर, 2025 का दिन सिक्किमका ईश्वरप्रेमीहरूका लागि आध्यात्मिक उत्थान र उन्नतिको निम्ति प्रदान गरियो। यस पवित्र पादुकालाई प्रशान्ति मन्दिरमा मन्त्रादि र अन्य पूजा विधिका साथ श्री सत्य साई सेवा संगठन सिक्किमका राज्य अध्यक्ष पूनम प्रधान र अन्य सक्रिय कार्यकर्तालाई हस्तान्तरण गरियो।
सिक्किम राज्यमा दिव्य साई पादुका ल्याउन संगठनका राज्य अध्यक्ष प्रधानको सक्रिय भूमिका रहेको र उनकै अनुरोधमा सेन्ट्रल ट्रस्टबाट दिव्य पादुका प्राप्त भएको बताइएको छ। उक्त पवित्र पादुका रेलद्वारा गत 22 दिसम्बरका दिन बेङ्गलुरुबाट 25 दिसम्बरका दिन एनजेपी रेलवे स्टेशन ल्याइयो र सोही दिन सिक्किम भित्र्याउने कार्य भयो।
यस क्रममा रम्फू अटल सेतु पूलमा श्री सत्य साई सेवा संगठनकी ट्रस्टी सविता राईको अगुवाईमा राज्य पदाधिकारीहरू लगायत गान्तोक, सिङताम, रंगेली आदिका सक्रिय कार्यकर्ता तथा भक्तजनको उपस्थितिमा दिव्य साई पादुका विधिवत रुपमा पूजा अर्चना गरी भव्य स्वागत गरियो। यसपछि, पवित्र पादुका श्री सत्य साई सेवा संगठन सिक्किमको केन्द्र गान्तोकको बालुवाखानीस्थित साई मन्दिरमा ल्याइयो। उपस्थित भक्तजनद्वाार विधि-विधानका साथ साई पादुकाको आरती उतारेर तत्कालको निम्ति मन्दिरको निर्धारित स्थानमा राख्ने कार्य गरिएको विज्ञप्तिमा उल्लेख छ।
भगवानको दिव्य पादुकाको सिक्किममा आगमन भएको खबरले जनमानसमा अपार खुशी छाउनका साथ दिव्य अनुग्रह महसुस गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल