

मङ्गन, 27 दिसम्बर (हि.स.)। जङ्गुको नामप्रिकदाङमा आजदेखि 49औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू भएको छ। 'पैतृक लय' थीममा आयोजना भइरहेको यस महोत्सवको उद्घाटन समारोहमा पर्यटन एवं नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङपा मुख्य अतिथि थिए।
मुख्य अतिथि अध्यक्ष लाचुङपाले आफ्नो सम्बोधनमा समारोहको 49औं संस्करणको सफल उद्घाटनको लागि बधाई दिए। उनले संस्कृति र परम्परा कुनै पनि व्यक्तिको पहिचानको मूल आधार हो भन्दै नामप्रिकदाङ नामसुङ महोत्सवले वर्षौंदेखि पुर्खाको सम्पदालाई सफलतापूर्वक संरक्षणका साथै अगाडि बढ़ाउने कार्य गरिरहेको बताए।
उनले सिक्किमका सबै समुदायहरूलाई आफ्नो परम्पराहरूको संरक्षण गर्न प्रोत्साहित गरिरहेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरे। जङ्गुले जहिले पनि पर्यटकहरूलाई आकर्षित गर्ने काम गरिरहेको बताउॅंदै उनले जङ्गु ग्रामीण पर्यटनको लागि स्वर्ण बनिरहने विश्वास व्यक्त गरे।
नामप्रिकदाङ नामसुङ समारोह समितिद्वारा आयोजना भइरहेको यस महोत्सवको समापन आगामी 31 दिसम्बर, 2025 मा हुनेछ। महोत्सवको पहिलो दिन लेप्चा लोक नृत्य प्रतियोगिता र परम्परागत खेलकुद अन्तर्गत टग अफ् वार प्रतियोगिता सम्पन्न भयो। यस पॉंच दिवसीय समारोहमा विभिन्न परमपरागत खेलकुद र गतिविधिहरूका साथै साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।
नामप्रिकदाङ नामसुङ महोत्सवको ४९औं संस्करण नामप्रिकदाङ नजिकै रहेका विभिन्न ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थलहरू, जस्तै ब्रोङ क्योङ र उंघ्रुम हट स्प्रिङ र लिङदेमका झरनाहरू, ही-गेथाङमा लेप्चा केनको पुल रु-सोम र अन्य आकर्षणहरूको अन्वेषण केन्द्रित रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल