
गान्तोक, 28 दिसम्बर (हि.स.)। सिक्किमको भ्रमणमा रहेका केन्द्रिय उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण तथा नयाँ एवं नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद जोशीले आज गान्तोक जिल्ला अन्तर्गत भारत-चीन सीमा क्षेत्रस्थित पर्यटकीय गन्तव्यहरू छाङ्गु लेक र नाथुला पासको भ्रमण गरे।
केन्द्रिय मन्त्री जोशी आधिकारिक भ्रमणमा हिजो सिक्किम आइपुगेका हुन्। नाथुला पास भ्रमणका क्रममा केन्द्रिय मन्त्रीलाई भारतीय सेनाका अधिकारीहरूले उक्त पासको ऐतिहासिक तथा सामरिक महत्वबारे जानकारी गराए। यस क्रममा नाथुला पाससँग सम्बन्धित महत्वपूर्ण घटनाहरू तथा भारत र चीनबीच भएका विभिन्न सम्झौताहरूको बारेमा पनि अवगत गराइयो। साथै, उच्च हिमाली क्षेत्रमा सीमाको सुरक्षा सुनिश्चित गर्न भारतीय सेनाले निर्वाह गर्दै आएको भूमिका र जिम्मेवारीबारे पनि मन्त्रीलाई जानकारी दिइयो।
केन्द्रिय मन्त्री जोशीले नाथुला पासमा तैनाथ भारतीय सेनाका जवानहरूसँग अन्तरक्रिया गर्दै कठोर मौसमी परिस्थितिमा पनि उनीहरूले देखाएको समर्पण, साहस र सेवाभावको प्रशंसा गरे। यसका साथै उनले स्थानीय प्रमुख पर्यटकीय गन्तव्य छाङ्गु लेकको पनि प्राकृतिक सौन्दर्य अवलोकन गरे। उनले कुपुप नजिकै अवस्थित पुरानो बाबा मन्दिरको पनि दर्शन गरे र श्रद्धाञ्जली अर्पण गर्दै पूजा–अर्चना गरे।
केन्द्रिय मन्त्रीसँग राज्य खाद्य तथा नागरिक आपूर्ति विभागका सहायक निर्देशक सरत तामाङ र खाद्य निगम (एफसीआई) का वरिष्ठ अधिकारीहरू तथा सम्बन्धित विभागका अधिकारीहरू पनि सामेल थिए।
हिन्दुस्थान समाचार / बिशाल