रिनाक, 04 फरवरी (हि.स.)। मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङले धारा 371एफ, सिक्किम सब्जेक्ट र सीओआई निरस्त भइसकेको विपक्षीहरूले प्रमाणित गर्न सकेको खण्डमा राजनीतिबाट सन्यास लिने चुनौती दिएका छन्। मुख्यमन्त्री तामाङ आज रिनाकमा आयोजित एसकेएम पार्टीको 13औं स्थापना दिवस समारोहमा बोल्दै थिए।
सुप्रीम कोर्टले मेडिकलमा पीजी कोर्सलाई लिएर सुनाएको एउटा फैसलालाई लिएर राज्यका विपक्षी राजनीतिक दलहरूले सरकारलाई घेर्ने काम गरिरहेको विषयमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्। एसकेएम पार्टीका अध्यक्ष तामाङले सुप्रीम कोर्टको उक्त फैसलालाई अघि सारेर जनतालाई डर देखाउने र दिग्भ्रमित गर्ने काम भइरहेको छ भने।
उनले धारा 371एफ, सिक्किम सब्जेक्ट र सीओआईको स्थिति र महत्वमाथि बोल्दै भने, सिक्किमेहरू सीओआई भएका व्यक्तिहरू हुन्। सिक्किम भारतमा विलय भएपछि विशेष सुरक्षाको साथमा सीओआई प्रदान गरिएको हो। सीओआई हाम्रो सुरक्षा कवच हो। सुप्रीम कोर्टले पनि आफ्ना निर्णयहरूमा सिक्किम धारा 371एफ को सुरक्षा प्राप्त राज्य रहेको बताइसकेको छ। उनले सिक्किम देशका अन्य राज्य सरह नरहेको स्पष्ट गर्दै सिक्किमलाई संविधानको विशेष प्रावधान प्राप्त रहेको बताए।
मुख्यमन्त्रीले सुप्रीम कोर्टको उक्त फैसलाले सिक्किमलाई छुदैन भन्दै आज जसले पनि सीओआई र डोमिसाइल उड्यो भन्दैछ उनीहरूले गैर सिक्किमेलाई सरकारी नोकरीमा नियुक्ति दिलाएर देखाउन चुनौती दिए। उनले भने, जुन दिन सीओआई नहुनेले सरकारी नोकरी पाउनेछ, म त्यही दिन राजनीति छोड्ने छु। उनले सिक्किम बाचुञ्जेलसम्म सीओआई र धारा 371एफ पनि जिउॅंदै रहनेछ भने।
हिन्दुस्थान समाचार / बिशाल