विपक्षी राजनीतिक पार्टीले जनतालाई दिग्भ्रमित गरिरहेको छ: विधायक लाम्टा
विपक्षी राजनीतिक पार्टीले जनतालाई दिग्भ्रमित गरिरहेको छ: विधायक लाम्टा


गान्तोक, 04 फरवरी (हि.स.)। एसकेएम पार्टीको 13औं स्थापना दिवस आज स्यारी निर्वाचन क्षेत्र अन्तर्गत भुसुकको स्कूल मैदानमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा क्षेत्र विधायक तेञ्जिङ नोर्बु लाम्टा र विशिष्ट अतिथिको रूपमा मुख्यमन्त्रीका सल्लाहकार फुचुङ भोटिया रहेका थिए।

कार्यक्रममा पार्टीको निम्ति जेल गएका युवा साथै सक्रिय कार्यकर्ताहरूलाई सम्मान जनाइयो। सोही प्रकारले पूर्व सरकारको कार्यकालमा एसडीएफ पार्टीको दबाउबीच पनि पञ्चायत र जिल्ला पञ्चायत चुनाउमा प्रतिस्पर्धा गर्ने साहसी कार्यकर्ताहरूलाई पनि सम्मान जनाइयो। आज एसडीएफ र सिटिजन एक्सन पार्टीका सक्रिय 45 कार्यकर्ता पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवम् क्षेत्र विधायक लाम्टाले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम राज्यले धेरै उपलब्धि हासिल गर्न सकेको बताए। वर्तमान सरकारले स्वास्थ र शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार गरेको किटान गरे। स्यारीको समस्यालाई लिएर आफूले मुख्यमन्त्री समक्ष राखेका धेरै मागहरूलाई स्वीकृति दिइएको बताउॅंदै अब केही दिनमा ती सबै कामहरू पुरा हुने बताए।

उनले चानमारीको सडकलाई राम्रोसँग बनाउनको निम्ति सीमा सडक संगठनलाई स्वीकृति दिएको हुनाले अबको केही समयमा उक्त सडकको निर्माण कार्य शुरू हुने आश्वासन दिए। मुख्यमन्त्रीले स्यारीलाई वैकल्पिक मार्ग प्रदान गर्नको निम्ति धेरै छलफल गरेको र यस विषयमा सर्वेक्षण गरिएपछि सडक निर्माण गरिने जानकारी गराए।

यसरी नै ताथाङचेन, छोङ्गे र कोपबारीमा राम्रो खेल मैदान हुनुपर्ने विषयलाई लिएर मुख्यमन्त्री समक्ष माग राखिसकेको र यी सबै मागहरूमाथि चॉंडै काम हुने उनले अवगत गराए। उनले स्यारी निर्वाचन क्षेत्रमा अब एसकेएम पार्टी बाहेक अन्य पार्टी नरहेको पनि दावी गरे। उनले अब स्यारी निर्वाचन क्षेत्रको 21 वटा वार्डमा सभा गरेर समिति गठन गरिने र सबै वार्डका सदस्यहरूलाई जिम्मेवारी सुम्पिने जानकारी गराए।

उनले हालैमा बसेको विधायक दलको बैठकमा केवल छुटेका 12 जातिलाई जनजातिको मान्यता दिलाउने बारेमा चर्चा भएको, तर बैठकमा दार्जिलिङ सिक्किम विलयबारे कुनै कुरा नभएको स्पष्ट गरे। तर राज्यका केही विपक्षी राजनीतिक पार्टीले यस विषयलाई मुद्दा बनाएर जनतालाई दिग्भ्रमित गरिरहेको उनले आरोप लगाए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande