बियाड सम्मान 2025 को घोषणा, 31 मार्चमा प्रदान गरिने
बियाड सम्मान 2025 को घोषणा


गान्तोक, 17 मार्च (हि.स.)। पाकिमको बिरिङ्ग आधारित बियाड युवा साहित्यिक संस्थानको चौथो स्थापना दिवस आयोजना विषय लिएर गत आइतवार संस्थानका प्रमुख संयोजक युवा बराल ‘अनन्त’ को अध्यक्षतामा एक जरूरी सभा राखियो। संस्थानका कर्मठ सदस्यहरू उपस्थित रहेको उक्त सभाले बियाड सम्मान 2025 का चयन समितिको सिफारिसलाई अनुमोदन गर्दै वर्ष 2025 को निम्ति बियाड सम्मानद्वारा सम्मानित हुन लागेका साहित्यकारहरूको नामावली सार्वजनिक गरेको छ।

संस्थानका प्रचार सचिव सहयात्री प्रितम (दुलाल) ले विज्ञप्तिमा बताए अनुसार, संस्थानले प्रत्येक वर्ष झैँ पूर्व निर्धारित नियमावली र कार्यतालिका अनुरुप लामो समयदेखि साहित्य सेवामा समर्पित एकजना वरिष्ठ साहित्यकार, एकजना वरिष्ठ नारी साहित्यकार, एकजना बाल/किशोर साहित्य अनुयायी/अनुरागी र एकजना वरिष्ठ साहित्यिक पत्रकार गरेर तीन जना प्रखर साहित्यिक व्यक्तित्व एवम् एकजना उभर्दो प्रतिभालाई उनीहरूको साहित्यिक योगदान र अभिरूचीको कदरार्थ/प्रोत्साहनार्थ ‘बियाड सम्मानव 2025’ द्वारा सम्बर्द्धना जनाउने निर्णय लिइएको छ।

साहित्यमा अथक, अनवरत र उत्कृष्ट सेवा पुऱ्याए वापत वरिष्ठ साहित्यकार तथा समालोचक डिल्ली प्रसाद अधिकारीलाई ‘बियाड साहित्य सेवा सम्मान', वरिष्ठ नारी साहित्यकार तथा कथाकार एवम् समाचार वाचिका उषा शर्मालाई ‘बियाड शारदा सम्मान’, बाल बालिकालाई साहित्य लेखन तर्फ उत्प्रेरित गर्न बालिका तेजस्विनी शर्मालाई ‘बियाड बाल प्रतिभा सम्मान’ र वरिष्ठ साहित्यकार तथा पत्रकार अर्जुन यावालाई ‘बियाड प्रतिबिम्ब सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय लिइएको छ।

यस अतिरिक्त, सभाले उक्त अवसरमा बिरिङ्ग गाउँलाई मध्यनजरमा राखेर उत्कृष्ट समाज सेवा गरिरहेको र केही महत्वपूर्ण पूर्वाधारको निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेको एउटा गैर सरकारी सङ्गठन ‘सिटिजन फाउण्डेसन’ लाई समाज सेवा र गाउँको पूर्वाधार निर्माणमा दिएको योगदानको निम्ति संस्थानले बिरिङ्ग गाउँको तर्फबाट अभिनन्दन गर्ने निधो पनि गरेको छ।

उक्त कार्यक्रम आगामी 31 मार्च, 2025 का दिन पाकिम जिल्ला अन्तर्गत पाकिम बजारस्थित सामुदायिक भवनको प्रेक्षालयमा विविध साहित्यिक एवम् साँस्कृतिक प्रस्तुतिहरूमाझ गरिने छ। वरिष्ठ समाज सेवक तथा साहित्य अध्येता कमल काफ्लेको सभाध्यक्षतामा सम्पन्न गरिने उक्त कार्यक्रममा साहित्यकार, पत्रकार तथा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावत मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande