सोनादा, 17 मार्च (हि.स.)। जीटीए क्षेत्रको युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथमा जीटीएको विभिन्न समष्टिहरुमा भइरहेको जीटीए आइडलको अडिशन सोनादा पचेङ समष्टिमा पनि सम्पन्न भएको छ। सोनादा पचेङ समष्टिमा आयोजित जीटीए आइडलको अध्यक्षता देवकुमार प्रधानले गरेका थिए र प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक एवं संगीतकार पेमा लामा उपस्थित रहेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा र संगीतकार कर्म ग्याल्छेन उपस्थित रहेका थिए। कार्यक्रममा जीटीए आइडलको उद्देश्य र औचित्य विषयमा जीटीएको सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले जानकारी गराए। कार्यक्रममा सोनादा पचेङ समष्टिमा भएका विकासमूलक कार्यहरूको वृत्तचित्र प्रदर्शन पनि गरिएको थियो।
कार्यक्रममा सोनादा पचेङ समष्टिमा रहेका गायक, संगीतकारहरु, साहित्यकार र समाजसेवीहरुलाई सम्मान जनाइयो। सभासद अनोश थापाको शब्दमा रहेको तथा आयुष लामाको स्वरमा रहेको गीत पनि रिलिज गरियो।
सोनादा पचेङ समष्टिमा जीटीए आइडलको लागि धेरैले अडिशन दिएका थिए, जसमध्ये उत्कृष्ट पाँचजनालाई चयन गरियो। उनीहरूको लाइभ सांगीतिक प्रस्तुतिपछि सोनादा पचेङ समष्टिबाट अमन गुरुङलाई चयन गरिएको छ। अमन गुरुङले सोनादा पचेङ समष्टिलाई जीटीए आइडलमा प्रतिनिधित्व गर्नेछन्।
क्षेत्रीय सभासद एंव जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जीटीए आइडलको कार्यक्रमलाई सांगीतिक कार्यक्रमको रुपमा मात्र नहेरेर एक क्रान्तिकारी पाइलाको रुपमा लिएको बताए। उनले स्थानीय कलाकारहरुले मञ्च पाउनुपर्छ भन्ने उद्देश्यका साथमा यो जीटीए आइडल शुरु गरिएको बताए।
सभासद थापाले भने, हाम्रो आफ्नै कलाकारहरुलाई मञ्च प्रदान गर्नुपर्छ र हामीले हाम्रै संगीतलाई प्रोत्साहन गर्नुपर्छ भनेर जीटीए आइडल शुरु गरिएको हो। जीटीए आइडलमा युवा कलाकारहरुले मञ्च पाउने र जीटीए आइडलपछि समष्टि उत्सव नामक कार्यक्रम शुरु गरिने छ। यसमा प्रत्येक समष्टिकाा कलाकारहरुलाई मञ्च प्रदान गरिने छ।
हिन्दुस्थान समाचार / हनोक