खरसाङ, 17 मार्च (हि.स.)। खरसाङ महकुमा अन्तर्गत लङ्गभ्यू थली पाखामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन लङ्गभ्यू युनिटको सभा आयोजन गरियो। सभामा वर्तमानमा लङ्गभ्यू चियाबारीको समस्याहरू विषयमा चर्चा परिचर्चा गरियो।
सभालाई सम्बोधन गर्दै सन्त मेरी तीन ग्राम पञ्चायत प्रधान साथै ट्रेड यूनियन खरसाङ महुकमा समितिका संयोजक मणिराज डुम्जनले लङ्गभ्यू चियाबारीको समस्या समाधानका लागि आफू चियाबारी मालिक पक्ष साथै प्रबन्धकसँग लगातार रूपमा सम्पर्कमा रहेको बताए। विगतमा चियाबारीमा केवल एक-दुईवटा श्रमिक संगठनहरूले राम्रो कार्य गरिरहेको थियो, तर वर्तमानमा धेरै श्रमिक संगठनहरू गठन भएपश्चात चियाबारीमा कार्य सुचारुसँग हुन नसकेको उनले अभियोग लगाए।
उनले विगतमा पनि श्रमिकहरूको रिले अनशनले श्रमिक साथै चियाबारीलाई धैरै क्षति भएको बताए। उनले भागोप्रमो ट्रेड युनियनले आफ्ना मागहरू प्रबन्धक पक्षलाई बुझाइसकेको र आगामी 19 मार्चमा मालिक पक्षले चियाबारीको समस्या विषय लिए वार्ता पनि डाकेको जानकारी गराए। उनले थली पाखामा पञ्चायतमार्फत स्ट्रीट लाइट साथै आफ्नो व्यक्तिगत पक्षबाट थली पाखामा निर्माण हुन गइरहेको गुम्बाको निम्ति 50 ब्याग सिमेन्ट दिने वचन दिए।
सभामा ट्रेड यूनियन लङ्गभ्यू युनिट सभापति नितू थापा, सचिव प्रणु बिश्व, सह सचिव सरस्वती गोले साथै ग्रामवासीको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक