प्राथमिक शिक्षा विभागको मुख्यालयदेखि प्राथमिक पाठशालासम्म डिजिटल उपस्थिति बहि शुरु हुने
प्राथमिक शिक्षा विभागको मुख्यालयदेखि प्राथमिक पाठशालासम्म डिजिटल उपस्थिति बहि शुरु हुने


सोनादा, 17 मार्च (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको लुइस जुब्ली, शिक्षा विभागको मुख्यालयमा बायो मेट्रिक उपस्थिति बही सुरु भइसकेको छ भने अब जिल्ला प्राथमिक शिक्षा पर्षद अनि जिल्ला प्राथमिक पाठशाला निरीक्षक कार्यालयमा बायोमेट्रिक उपस्थिति बहि शुरु हुने भएको छ। यसका साथै सर्कल अफिसमा पनि मशीन जडान गरिने छ। त्यसरी नै प्राथमिक पाठशालामा नोट क्याम शुरु हुने भएको छ।‌

प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानले जानकारी दिए अनुसार, शिक्षा विभागको मुख्यालय लुइस जुब्लीमा बायोमेट्रिक उपस्थिति बहि शुरु भइसकेको छ भने त्यसरी नै जिल्ला प्राथमिक पाठशाला पर्षद अनि जिल्ला प्राथमिक पाठशाला परिदर्शक कार्यालयमा पनि बायोमेट्रिक उपस्थिति बहि शुरु हुँदैछ।

चौहानले सर्कल अफिसमा पनि बायोमेट्रिक बहि जडान गर्ने विभागीय निर्णय भएको जानकारी गराउँदै भने, प्राथमिक शिक्षक शिक्षिकाहरू विभागीय कार्य लिएर सर्कल अफिस पुग्दा कार्यालयमा कर्मचारी नभेटेको अथवा समयमा कार्यालय नखोलिएको धेरै गुनासो प्राप्त भएको छ। शिक्षकहरुको समय यसरी नष्ट भइरहेको छ। त्यसैले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ 13 वटै सर्कल अफिसहरुमा पनि बायोमेट्रिक जडान गर्ने निर्णय शिक्षा विभागले लिएको हो।

जीटीए प्राथमिक शिक्षा विभाग अधीनस्थ 778 वटा प्राथमिक पाठशाला छन्। यी पाठशालाहरूमा पनि शिक्षक शिक्षिकाहरुको उपस्थिति दस्तावेज गर्न बायोमेट्रिक उपस्थिति बहि जडान गर्न कोशिश गरिएको थियो। तर, कतिपय प्राविधिक समस्याका कारण यो सम्भव भएन। यसपछि, यसको विकल्पमा नोट क्यामद्वारा उपस्थिति दर्जा गरिॅंदैछ।

शिक्षकहरुले बिहान पाठशालाको शुरुवात अनि बेलुकी पाठशालाको बिदाको समय फोटो खिचेर आफ्नो क्षेत्र (सर्कल) को एसआई अनि एआईलाई व्हाट्सएप्पद्वारा पठाउँछन्। उनीहरूको उपस्थिति अनि अनुपस्थितिको सम्पूर्ण जानकारी एसआई अनि एआईले सम्बन्धित अधिकारीलाई जानकारी दिने अहिले नियम अनि अभ्यास छ।

एक प्रश्नको जवाफमा चौहानले भने, पाठशालामा शिक्षकहरु अनुपस्थित रहन्छन् भन्ने जस्ता दोष लागिरहन्छ। यस्तो दोषारोपण विभाग अनि शिक्षकहरुप्रति लाग्नु दुःखको कुरा हो। यस्तो उपस्थिति बहिले शिक्षक शिक्षिकाहरु पाठशाला जाँदैनन् भन्ने जुन दोषारोपण लाग्छ त्यो पनि हटेर जानेछ। शिक्षक शिक्षिकाहरुले आफ्नो कर्तव्य राम्ररी नै निभाइरहेका छन्। एक दुइजनाको दुष्टाईले गर्दा सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई नै यस्ता लाञ्छनाले पिरोलिरहेकोछ। जुन ठीक होइन।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande