खरसाङ, 01 अप्रेल (हि.स.)। सोमवार मकैबारी चियाबगान अन्तर्गत कैलापानी गाउँ निवासी बालिका रोशनी राईलाई खरसाङमा टोय ट्रेनले धक्का दिएपछि उनी गम्भीर रूपले घाइते भएकी थिइन् भने उपचारकै क्रममा उनको सोमवार राति सिलगढीको एउटा निजी नर्सिङ होममा निधन भयो। उनको पार्थिव शरीर मंगलवार नर्थ बंगाल मेडिकल कलेज तथा अस्पतालबाट पोस्टमार्टम गरेपछि अन्तिम संस्कारको निम्ति घर ल्याइयो। यस अवधि बालिका रोशनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जीटीएका मुख्य कार्यपाल अनित थापा उनको घर पुगे।
थापाले पीडित परिवारलाई शान्तवना दिँदै उनीहरूको न्यायको निम्ति आफू सधैँ साथमा रहने वचन दिए। उनले लिखित रूपमा पनि आश्वस्त गराउँदै आफ्नो पक्षबाट गर्नुपर्ने सबै प्रकारको सहयोग गर्ने वचन दिए। तिनी धेरै समय यहाँ बसे औ बालिकाको शव ल्याएपछि उनलाई श्रद्धाञ्जली अर्पण गरे। थापाले गाउँवासीलाई पनि आश्वस्त गराउँदै यस अवधि कोही पनि उत्तेजित नभइदिन आग्रह गरे भने नानीको परिवारलाई न्याय दिन एउटा कमिटी तयार पारेर आफू स्वयं पनि त्यसमा लागिपर्ने बताए।
मृत बालिकाको पोस्टमार्टम लगायत अन्य अस्पतालका कतिपय सहयोगहरू प्रदान गर्न क्षेत्रिय सभासद कल्पना प्रधान अनि एमओडी सभासद प्रणाम रसाईली नर्थ बंगाल मेडिकल कलेज तथा अस्पतालमा पुगेका थिए। पछि उनीहरू मृतकको घरमा पनि आएर परिवारलाई सम्वेदना प्रकट गरे भने यता जीटीएका कार्यकारी सभासदहरू श्याम शेर्पा, परेश तिर्की, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुबास प्रधान, खरसाङ पञ्चायत समिति सभातिपति अनु प्रधान, पञ्चायत समिति सदस्य शिला लामा, पाण्डु ग्राम पञ्चायत प्रधान नन्जिता तामाङ, पञ्चायत सदस्यहरू, पार्टी प्रतिनिधिहरू, सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयका शिक्षिकाहरू आदि पनि उपस्थित रहेका थिए।
यस अवधि रेलवे इम्प्लोइज युनियनको तर्फबाट मृतक परिवारलाई आर्थिक सहयोग प्रदान गरियो भने उनीहरूले पनि आफूहरूबाट हुने सबै प्रकारको सहयोग प्रदान गर्ने वचन दिए। बालिका रोशनीको मंगलवार अन्तिम संस्कार गरियो।
हिन्दुस्थान समाचार / हनोक