गान्तोक, 06 अप्रेल (हि.स.)। धर्म विभागको एक टोलीले हिजो रालोङको डेन्सा पाल्छेन छोसलिङ गुम्बाको भ्रमण गऱ्यो। भ्रमणको क्रममा विभागकी सचिव हिस्सो योङदा लगायत उनको साथमा अतिरिक्त सचिव, वरिष्ठ प्रभारी लगायत अन्यहरू पनि सामेल रहेका थिए।
भ्रमणको क्रममा टोलीले विशेष गरेर मोनास्टिक विद्यालयको पूर्वाधार, विकासबारे छलफल गरेको बताइएको छ। यस अवसरमा डेन्सा पाल्छेन छोसलिङ गुम्बा प्रशासनले धर्म विभागको टोलीलाई उक्त गुम्बामा चाहिने आवश्यक सामग्रीबारे अवगत गरायो। यसका साथै टोलीले राबोङको ननेरी गुम्बाको भ्रमणको गर्नको साथै रिम्पोछे क्याबगोन गोसिर ग्याल्सबसँग पनि भेट गरेको जानकारी गराइएको छ।
सोही प्रकारले टोलीले राबोङको संस्कृत पाठशाला, बेन र तार्कुका विद्यार्थी साथै शिक्षकहरूसँग अन्तरक्रिया गऱ्यो।अन्तरक्रियाको क्रममा सचिवले विद्यार्थी साथै शिक्षकहरूको उपस्थितिसँगै छात्रावास र विद्यालयको कक्षामा उपलब्ध गराइएको सुविधाबारे पनि जानकारी लिइन्।
हिन्दुस्थान समाचार / प्रदीप