गान्तोक, 08 अप्रेल (हि.स.)। सिक्किम नाम्ची जिल्लाको राबोङ्गलास्थित छोजो लेकमा छोजो फेस्ट आयोजना गर्न तयार रहेको छ। उक्त महोत्सव आगामी 11 अप्रेलदेखि 16 अप्रेलसम्म आयोजना गरिने छ। मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल प्रतियोगिता यस महोत्सवको मुख्य आकर्षण रहनेछ।
क्षेत्र विधायक रिक्सल दोर्जी भोटियाले मिडिया कर्मीहरूलाई यस महोत्सवको मुख्य उद्देश्य सिक्किमको पर्यटनलाई बढावा दिनुका साथै राबोङ्गलालाई प्रमुख पर्यटक गन्तव्यको रूपमा स्थापित गर्नु रहेको बताए। उनले महोत्सवमा बिजनेस टु बिजनेस कार्यक्रम आयोजना गरिने बताए, जसमा नेपाल र भुटानका उद्यमीहरू र व्यापारिक नेताहरूले आफ्ना विचारहरू आदान प्रदान गर्नेछन् भने नयॉं व्यापार अवसरहरू अन्वेषण गर्नेछन्।
महोत्सव आयोजन समितिका महासचिव विष्णु शर्माले राबोङ्गलामा पर्यटनको व्यापक सम्भावना रहेको बताए। अर्कोतिर, उनले यहॉं धेरै संख्यामा पर्यटकहरू आउने गरे तापनि धेरै कम पर्यटकहरू मात्र बस्न इच्छा गर्ने गरेको बताए। उनले यस चुनौतीलाई ध्यानमा राख्दै यस महोत्सवले पर्यटकहरूलाई लामो समयसम्म यहॉं बस्न प्रोत्साहित गर्ने लक्ष्य लिएको जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल