कोलकाता, 9 मई (हि.स.)। दिघाको नवनिर्मित जगन्नाथ मन्दिरमा पुगेर दर्शन गरेको एवं मुख्यमन्त्री ममता ब्यनर्जीसित भेट गरेको मामिलामा पार्टी नेताहरूको मौखिक प्रहारको सामना गरिरहेका भारतीय जनता पार्टी (भाजपा)-का पूर्व प्रदेश अध्यक्ष दिलीप घोषले आरएसएसका शीर्ष नेताहरूसित भेट गरी स्पष्ट रूपमा भनेका छन्, उनी कसैसित सम्झौता गर्न चाहँदैनन् र आफ्नो पुरानो शैलीमै लड़ाईँलाई जारी राख्नेछन्।
दिलीप घोषले जगन्नाथ मन्दिर दर्शनलाई लिएर उठेको विवादको सन्दर्भमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)-का अधिकारीहरूसित भेट गरे। यस भेटमा उनले स्पष्ट पारे, भाजपाभित्र जुन-जुन नेताहरूले उनको विरोधमा मोर्चा खोलिरहेका छन्, उनीहरू अधिकांश नै तृणमूलबाट आएका दलबदलुहरू हुन्। त्यसैले उनी यस्ता मानिसहरूसित कुनै प्रकारको सम्झौता गर्ने छैनन्।
सूत्र अनुसार दिलीप घोषले गत बिहीवार राज्य आरएसएस मुख्यालय ‘केशव भवन’ पुगेर संघका शीर्ष पदाधिकारीहरूसित बातचित गरेका थिए। यस अवसरमा उनले पार्टीको वर्तमान स्थिति, आफूविरूद्ध उठिरहेको आवाज तथा ती दलबदलु नेताहरूको भूमिकाको बारेमा विस्तारपूर्वक जानकारी दिए।
घोषले आरएसएसलाई स्पष्ट रूपमा बताए, उनको लड़ाईँ जारी रहनेछ र उनी एक्लै नै त्यसको सामना गर्नेछन्। साथै उनले यो पनि भने, उनलाई भाजपामा पठाउने आरएसएस नै थियो। यदि संघले चाह्यो भने उनलाई पार्टीबाट फिर्ता बोलाउन सक्छ। उनले अनुरोध गरे, पार्टीभित्र जुन मानिसहरूले उनीविरूद्ध माहोल बनाइरहेका छन्, उनीहरूलाई संघले सम्झाओस्।
घोषले भने, “मलाई आरएसएसले बोलाएको थियो, मैले गएर सबै कुरा स्पष्ट पारिदिएँ।”
वास्तवमा हालैमा मुख्यमन्त्री ममता ब्यनर्जीको निम्तोमा दिलीप घोषले दिघामा पुगेर जगन्नाथ मन्दिरको दर्शन गरेका थिए। त्यसपछि भाजपाका केही दलबदलु नेताहरूले उनीमाथि प्रहार गर्न शुरू गरे अनि उनलाई पार्टी विरोधी ठहराउने चेष्टा गरे।
यस सम्पूर्ण विवादबीच गत बुधवार सम्पन्न भाजपा कोर कमिटीको बैठक तथा प्रदेश भाजपाको विस्तारित बैठकमा पनि दिलीप घोषलाई आमन्त्रण गरिएन। सूत्र अनुसार पार्टीको पदाधिकारी खेमा उनलाई किनाराकृत गर्ने प्रयासमा जुटेको छ।
तथापि प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले पार्टीमा कुनै पनि प्रकारको अन्तर्विरोध रहेको कुरालाई अस्वीकार गरे। उनले भने, “हामीबीच कुनै लड़ाईँ भएको छैन। मतभेद हुनसक्छ, तर मनभेद भएको छैन। तृणमूललाई हटाउनु नै हामी सबैको लक्ष्य हो र यसमा कुनै भ्रम छैन।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा