गान्तोक, 19 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को एक विशेष र महत्वपूर्ण बैठक आज जोरथाङस्थित सर्कल अफिसमा सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टीका उपाध्यक्ष (राजनीतिक मामिला) भूषण अधिकारीले गरेका थिए।
बैठकमा जिल्ला अध्यक्ष पीडी शेर्पाको संयोजनमा कार्यकारिणी परिषद्का सम्पूर्ण पदाधिकारीहरू, वरिष्ठ नेता प्रशान्त बाबु छेत्री, किरण जिम्बा, प्रकाश पराजुली, तिलक छेत्री, एसीईसी सोरेङ अध्यक्ष लगायत जिल्लाभरिका सक्रिय नेताकार्यकर्ताहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सोरेङ जिल्लाका विविध समष्टिहरूमा पार्टीको सांगठनिक सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा राजनीतिक गतिविधिहरूको समन्वयात्मक भावी कार्ययोजना र क्रियान्वयन प्रणालीबारे गहन र दूरदर्शी छलफल भयो। उपस्थित नेताहरूले पार्टीप्रति जनतामा गहिरिँदो विश्वास, नेतृत्वप्रति भरोसा र संगठनप्रतिको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै पार्टीलाई जनमानसको वास्तविक प्रतिनिधि र आशाको केन्द्रबिन्दु बनाउने साझा संकल्प व्यक्त गरे।
विशेषगरी पार्टी अध्यक्ष गणेश के. राईको निस्वार्थ नेतृत्व, जनमुखी दर्शन र शुद्ध राजनीतिक मूल्यमान्यताप्रति व्यक्त गरिएको गहिरो श्रद्धा र सम्मानले बैठकलाई भावनात्मक उचाइ प्रदान गरेको बताइएको छ। अध्यक्ष राईको दर्शनमा आधारित “स्वच्छ राजनीति, समावेशी नेतृत्व र जनताको सत्ता हुनुपर्ने” भन्ने अभियानलाई आगामी दिनहरूमा अझ शसक्त रूपमा गाउँ-गाउँमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल