जीटीए प्रमुख अनित थापाको घर जाने सडक अवरूद्ध
खरसाङ, 19 जून (हि.स.)। लगातार परिरहेको पानीले खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 क्षेत्रमा बिहिवार पैह्रो गएको छ। वार्ड नम्बर 17 मा दर्नाल बडाको घर, डिकेन तामाङको घरलाई क्षति पुगेको छ। उक्त पैह्रो आज दिउँसो 3:30 बजीतिर गएको जानकारी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले दिएका छन्।
उनले पैह्रो खरसाङको नयाँ बजार क्षेत्र अन्तर्गत जीटीए प्रमुख कार्यपाल अनित थापाको घर जाने सडकमा झरेको र सडक अवरूद्ध बनेको बताएका छन्। उनले वार्ड नम्बर 17 मा गएको पैह्रोले माथिल्लोपट्टि तीनवटा घरहरु र तलपट्टि दुईवटा घरलाई खतरा भएको बताए। खरसाङ नगरपालिकाका भाइस चेयरम्यानले पैह्रो शुक्रवार बिहान सफा गरेर यातायात सुचारू गरिने बताएका छन्।
पैह्रो क्षेत्रको निरीक्षण गर्न आज खरसाङ नगरपालिकाका भाइस चेयरम्यान प्रधान, पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोन, युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङ लगायत खरसाङ नगरपालिकाका एसएई सञ्जय थापा, सोनाम लामा, खरसाङ इञ्जिनियरिङ विभागका अभियन्ताजरु पुगेका थिए। निरीक्षणपछि वार्ड नम्बर 17 मा गएको पैह्रोलाई तारपोलिनले छोप्ने कार्य गरिएको साथै शुक्रवार बिहान पैह्रो क्षेत्रको सडक सफा गरिने प्रधानले बताएका छन्। सफाईको जिम्मेवारी खरसाङ इञ्जिनियरिङ विभागलाई दिइएको छ।
हिन्दुस्थान समाचार / हनोक