गान्तोक, 26 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले ड्रग्स सेवन गर्ने सरकारी कर्मचारीहरू विरुद्ध कडा कारबाहीको चेताउनी दिएका छन्। उनले ड्रग्स सेवन गरेको पुष्टि भए सरकारी कर्मचारीहरूलाई अब माफी नदिइने र सोझै टर्मिनेट गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री आज सिक्किम सरकारको सामाजिक कल्याण विभागले राजधानीको मनन केन्द्रमा आयोजना गरेको लागूऔषध दुरुपयोग तथा अवैध तस्करी विरुद्ध अन्तरराष्ट्रिय दिवस कार्यक्रममा बोल्दै थिए।
'ब्रेकिङ द चेन्स: प्रिभेन्शन, ट्रीटमेन्ट एण्ड रिकभरी फर् अल' थीममाथि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले भने, 'सरकारी कर्मचारीहरूले ड्रग्स सेवन गरेको थाहा पायो भने हामी सस्पेन्शनमा जाने छैनौं, सोझै टर्मिनेशनमा जाने छौ।'
उनले ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई अब माफी पनि नदिने बताउॅंदै प्राय: राजनीतिज्ञहरू नै यस्ता कर्मचारीहरूको उद्धारको निम्ति अघि आउने गरेको आसय व्यक्त गरे। उनले भने, 'यदि कुनै कर्मचारी टर्मिनेट भयो भने राजनीतिज्ञहरू मेरो आफन्त हो, एकपल्टको निम्ति माफी दिनुहोस् भन्छन्, तर अब माफी दिइने छैन।' उनले एकपल्ट टर्मिनेट भयो भने उक्त कर्मचारीले एकै पैसा पनि नपाउने कानून बनाउॅंदैछौं भनी जानकारी गराए।
यस अतिरिक्त, मुख्यमन्त्रीले विभागहरूका ड्रग्स सेवन गर्ने शंकास्पद कर्मचारीहरूको टेस्ट गर्न फ्ल्याइङ भिटिजमा पठाउने बताए। टेस्ट गर्दा यदि कुनै कर्मचारीले ड्रग्स सेवन गर्ने प्रमाणित भए, तत्काल टर्मिनेट गर्ने उनले बताए। उनले आफ्नो सम्बोधनमा सिक्किमलाई नशामुक्त राज्य बनाउने दिशामा सरकारले गरेका विभिन्न पहलहरूको बारेमा जानकारी जानकारी गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल