खरसाङ, 27 जून (हि.स.)। खरसाङको नयाँ बजारस्थित जगदीश मन्दिरबाट आज भगवान जगन्नाथको रथयात्रा निकालियो। जगन्नाथ रथयात्रा एवं नगर परिक्रमा अखण्ड हरि संकीर्तन समिति खरसाङको आयोजनामा उक्त जगन्नाथ रथयात्रा निकालियो।
सय वर्षभन्दा पुरानो खरसाङको नयाँ बजारस्थित जगदीश मन्दिर परिसरबाट निकालिएको उक्त जगन्नाथ रथयात्रा मोटर स्ट्याण्ड हुँदै हिल कार्ट रोड भएर टुरिस्ट लज नजिकसम्म पुगेर फर्किएर वर्द्धमान रोड हुँदै पुनः मोटर स्ट्याण्ड भएर जगदीश मन्दिर आइपुगेर समापन गरिएको जानकारी प्राप्त भएको छ।
यस अवसरमा नेपालको महिला टोलीद्वारा नौमति बाजासहित कीर्तन र आमवाडी हरिकीर्तन टोलीद्वारा हरिनाम संकीर्तन गरिएको थियो। भगवान जगन्नाथ रथयात्रा असार शुक्ल द्वितीयमा आयोजना गरिन्छ। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, सभासद श्याम शेर्पा र प्रणाम रसाइली, श्री जगदीश मन्दिरका पुरोहित आनन्द पारिख साथै खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु सहभागी बनेका थिए।
खरसाङमा रहेको एकमात्र जगदीश मन्दिरको आयोजनामा विगत सय वर्षभन्दा अघिदेखि रथयात्रा आयोजना हुॅंदै आएको छ। भगवान जगन्नाथको रथयात्रा खरसाङमा भव्य रुपमा सम्पन्न गरिएको आचार्य केशव शर्मा र जगदीश, मन्दिरका सभापति राजेन्द्र प्रसाद अग्रवालले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक