गान्तोक, 27 जून (हि.स.)। नेपाली साहित्य परिषदद्वारा राज्यपाल ओम प्रकाश माथुरलाई गान्तोकमा आयोजना हुने राज्यस्तरीय 211औँ भानुजयन्तीको पूर्वार्द्ध कार्यक्रममा मुख्य अतिथिका लागि उपस्थित भइदिने आग्रह गरेको छ।
आज (27 जून, 2025) परिषदका अध्यक्ष हरि ढुङ्गेलको नेतृत्वमा गएको कार्यकारिणी सदस्यहरूका टोलीले राज्यपाललाई राजभवनमा भेट गऱ्यो। सो भेटको क्रममा परिषदले लिखित रूपमा उनलाई आग्रह पत्र अर्पण गऱ्यो। राज्यपालले सो कार्यक्रममा मुख्य अतिथिको रूप उपस्थित भइदिने आग्रहलाई स्वीकार गर्दै उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे।
परिषदका अध्यक्ष हरि ढुङ्गेलले यस वर्षको भानुजयन्ती ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्र स्वर्णिम उपलब्धि’ थीममा आयोजना हुने जानकारी पनि दिए। उनले भानुजयन्तीको पूर्वार्द्धको कार्यक्रम बिहान भानु उद्यान आयोजना हुने तथा यहाँ सम्बोधन पनि गर्नु पर्ने बताए। उनले सो कार्यक्रममा मुख्यमन्त्री पीएस तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित हुने जानकारी दिए।
सो कार्यक्रम समाप्त पश्चात राज्यपाललाई बिदा दिए पश्चात शोभायात्रा आरम्भ हुने उनले जानकारी गराए। सो भेटघाटका लागि समय दिएकोमा राज्यपालप्रति परिषदले आभार व्यक्त गरेको परिषदका प्रचार सचिव जोसेफ लेप्चाले आज विज्ञप्तिमा जनाएका छन्।
हिन्दुस्थान समाचार / बिशाल