गान्तोक, 27 जून (हि.स.)। रक्तदान जीवनदान भन्ने मुलमन्त्रका साथ मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङको विशेष मार्ग निर्देशनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी, दक्षिण जिल्ला युवा प्रकोष्ठको तत्वावधानमा र जिल्ला अस्पताल नाम्ची र गैर-सरकारी संस्था भोलेन्टरी बल्ड डोनर्स एसोसियशन अफ सिक्किमको संयुक्त समन्वयमा आज नाम्ची स्थित टाउन हलमा एक वृहत रक्तदान शिविरको आयोजना गरियो।
यस रक्तदान शिविरमा ठूलो संख्यामा युवाहरू र स्थानीय मानिसहरूले स्वेच्छाले रक्तदान गरे। शिविरमा नामथाङ रातेपानीका विधायक तथा युवा प्रकोष्ठ राज्य स्तरीय उपाध्याक्ष सञ्जित खरेल, युवा प्रकोष्ठका राज्य स्तरीय अध्यक्ष लाक्पा मोक्तान, सिक्किम सरकारी ठेकादार संघका अध्यक्ष सहदेव शर्मा, दक्षिण जिल्ला युवा संयोजक हरूण सुब्बा, एसजे लेप्चा, वसन्त तामाङ, छिरिङ तोब्देन भोटिया (रिङ्कु), युवा प्रकोष्ठका राज्य स्तरीय कार्यकारिणी सदस्यहरू लगायत अन्यको उपस्थिति थियो।
रक्तदान केवल परोपकार होइन यो मानवताको उच्चतम सेवा हो भन्ने मुलसारलाई ध्यानमा राख्दै सबैले रक्तदान गरे। यस अवसरमा ब्रह्माकुमारी राजयोग केन्द्र नाम्चीद्वारा सबै कार्यकारिणी सदस्यहरूलाई सम्मान पनि जनाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङको निर्देश अनुरुप पार्टीको युवा शाखाले हरेक समय समाजोपयोगी कार्यहरू गर्दै आइरहेको छ। कतिपय व्यक्तिहरूले एसकेएम पार्टीका युवाहरूमाथि अनर्गल आरोप लागउने गरेका छन्, यद्यपि एसकेएम पार्टीका युवाहरू समाज र राज्यका हितमा रहेर विभिन्न कार्यहरू गरिरहेका छन् र गरिरहनेछन्।
सिक्किमको भविष्य युवाहरूको काँधमा हुनुपर्छ भन्ने पार्टी अध्यक्षको मन्तव्यलाई शिरोपर गर्दै पार्टीको युवा शाखाले समाजसेवा, बिरामीहरूको स्वास्थ्य सेवा, रक्तदान, सफाई अभियान, शिक्षामूलक विभिन्न कार्यक्रम जस्ता समाजमा गरिनुपर्ने कार्यहरूलाई निरन्तरता दिँदै आइरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल